एन्फा यू–१६ युथ लिगमा मछिन्द्र क्लबले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ। सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न खेलमा, मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गऱ्यो।
अर्जुन बहादुर काठायत मछिन्द्रका लागि उत्कृष्ट खेलाडी सावित भए, जसले २ गोल गरे। प्रज्ञना राई, हिमाल थिङ र बिकाश थापाले पनि प्रत्येक १–१ गोल गर्दै टोलीलाई सहज जित दिलाए।
यो जितसँगै मछिन्द्रले ९ खेलबाट २० अंक जोडेको छ र लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ। विपक्षी त्रिभुवन आर्मी भने ६ अंकमै सीमित रहँदै १२औं स्थानमा यथावत् रहेको छ। मछिन्द्रको आक्रामक प्रदर्शनले अब उपाधि होड थप रोमाञ्चक हुने संकेत दिएको छ।