संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकार निजी क्षेत्रसँग सहकार्यमा पर्यटन क्षेत्रको विकास गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। सोमबार मन्त्रालयमा आयोजित विशेष समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै, मन्त्री पाण्डेले निजी क्षेत्रले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने र सरकार समन्वयका लागि सधैं तयार रहेको बताएका हुन्।
उनले भने, “निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम आउँछ। हामी मिलेर काम गर्न चाहन्छौं।” नयाँ संविधान कार्यान्वयनसँगै संघीय संरचनालाई ध्यानमा राख्दै मन्त्रालयले विभिन्न नीतिगत दस्तावेजहरू अगाडि बढाइरहेको जानकारी उनले दिए। मन्त्री पाण्डेले २०६५ सालको पुरानो पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा “अद्धितीय पर्यटकीय गन्तव्य : नेपाल” भन्ने दृष्टिकोण समावेश गरिएको जानकारी दिए।
उनका अनुसार, नेपाललाई सुरक्षित, भरपर्दो, दिगो र जीवनपर्यन्त अनुभव हुने गन्तव्यका रूपमा विकास गर्न नीति तयार गरिएको हो। मन्त्रालयले हालसम्म १३ वटा विधेयक अघि बढाइसकेको र संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को छलफल चरणमा रहेको पनि मन्त्री पाण्डेले उल्लेख गरे।
उनले विश्वास व्यक्त गरे कि यो नीति राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पु¥याउनेछ र पर्यटन क्षेत्रको नयाँ युगको सुरुवात गर्नेछ।