मोरङमा निर्माण हुँदै ‘द एक्सिस होटल’, पूर्वमै थपिंदै पाँचतारे सुविधा

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

पूर्वी नेपालको व्यावसायिक केन्द्र विराटनगर नजिकै, मोरङको ब्रम्हापुरामा डेढ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माणको तयारी भइरहेको छ। ‘द एक्सिस होटल’ नाम दिइएको उक्त परियोजना एक्सिस हस्पिटालिटी प्रालिको स्वामित्वमा बन्नेछ। पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा विस्तार तथा रोजगारी सिर्जनाको उद्देश्यले प्रस्ताव गरिएको होटलको पर्यावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा दर्ता भइसकेको छ। मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गर्दै प्रतिवेदनबारे सर्वसाधारणको राय सुझाव माग गरिसकेको छ।

होटल करिब ४ बिघा १३ कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ, जसमा चारवटा भवन रहनेछन्— एक चारतले, एक पाँचतले, एक भुइँतले र एक एकतले। होटलको निर्माण क्षेत्रफल २७ हजार ४८२ वर्गमिटर रहनेछ। प्रस्तावित होटलमा २१५ कोठा र ३५० शय्या, रेस्टुरेन्ट, स्विमिङ पुल, बार, मिटिङ हल, बेन्क्वेट हल, स्पा, साउना, जिम, विशेष पाहुना कक्ष, शौचालय तथा र्याम्पजस्ता अत्याधुनिक सुविधा रहनेछन्।

होटलकै प्रमुख आकर्षण आधुनिक क्यासिनो हल हुनेछ, जसको भुइँतलामा १,१८८ र पहिलो तल्लामा १,६१७ वर्गमिटर क्षेत्रफल रहनेछ। पार्किङका लागि १०४ चारपाङ्ग्रे र १५० दुईपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहनेछ। दैनिक ५२ हजार लिटर भूमिगत पानी खपत हुने अनुमान गरिएको छ। निर्माण अवधिमा ७० जना र सञ्चालनपछि २०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ।

कम्पनीले करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा यो होटल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ। परियोजना संघीय सरकारको जिम्मेवारीमा पर्ने भएकाले वातावरण संरक्षण ऐन, २०७६ र नियमावली, २०७७ अनुसार ईआईए प्रतिवेदन तयार गरिएको हो। होटल निर्माण स्थल समथर भूभागमा रहेको र नजिकै केसलिया खोला बगिरहेको उल्लेख गरिएको छ। भूगर्भ, माटो, हावा, जैविक विविधता र सामाजिक प्रभावको अध्ययनमार्फत स्थान उपयुक्त देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन मन्त्रालयको वेबसाइट, सिंहदरबारको पुस्तकालय, विराटनगर महानगर कार्यालय लगायत विभिन्न संस्थाहरूमा अध्ययनको लागि सार्वजनिक गरिएको छ। यस परियोजनाले पूर्वी नेपालमा पर्यटन प्रवर्द्धनको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ। स्थानीय रोजगारी, व्यवसायिक चहलपहल र राजस्वमा सकारात्मक असर पर्ने अपेक्षा गरिएको छ। कम्पनीले वातावरणीय व्यवस्थापन योजनाको नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार