रसुवा जिल्लामा असार २३ गते देखिएको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले ठूलो भौतिक क्षति पुर्याएको छ। त्यसको असर बीमा क्षेत्रमा पनि स्पष्ट देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन ८ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढी–पहिरोका कारण विभिन्न बीमा कम्पनीहरूमा जम्मा ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा दाबी पेश भएका छन्।
सबैभन्दा ठूलो क्षति सवारी साधनमा परेको देखिएको छ। सार्वजनिक तथा निजी गरी ५२ वटा मोटर बीमालेखमा दाबी परेका छन्। तीमध्ये ३८ वटा सार्वजनिक सवारी र १४ वटा निजी सवारी रहेका छन्। सार्वजनिक सवारीतर्फ २ करोड ५९ लाख ५० हजार र निजी सवारीतर्फ २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ।
सम्पत्ति बीमा अन्तर्गत सबैभन्दा ठूलो क्षति दाबी देखिएको छ। जम्मा ६ वटा सम्पत्ति बीमालेखमा ५८ करोड १ लाख रुपैयाँ बराबरको दाबी परेको छ। यस्तै, सामुन्द्रिक बीमा अन्तर्गत १६ करोड २३ लाख १० हजार रुपैयाँ र इन्जिनियरिङ ठेकेदार जोखिम अन्तर्गत ५ करोड ४० लाख रुपैयाँ बराबरको दाबी पेश भएको बीमा प्राधिकरणले जनाएको छ।
बीमा कम्पनीहरूतर्फ हेर्दा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा ठूलो दाबी परेका छन्। कम्पनीमा मात्र ५५ करोड रुपैयाँ बराबरका दाबी परेका छन्, जुन कुल दाबीको करिब ६५ प्रतिशत हो।
त्यसपछि शिखर इन्स्योरेन्समा १६ करोड ८५ लाख १० हजार, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख, सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाख, नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार, युनाइटेड अजोडमा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार, सानिमा जिआइसीमा ७५ लाख, एनएलजीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरका बीमा दाबीहरू परेका छन्।