भृकुटीमण्डपमा सवारीहरूको नयाँ युग: ३५ मोडल पहिलोपटक सार्वजनिक हुने

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले साउन २१ देखि आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा ५० भन्दा बढी ब्रान्डका सहभागिता रहने पक्का भएको छ। काठमाडौंको भृकुटीमण्डपमा हुने यस भव्य प्रदर्शनीमा ३५ नयाँ मोडल पहिलोपटक सार्वजनिक गरिनेछ।

एक्स्पोमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारी गरी करिब ३५ भन्दा बढी मोडल सार्वजनिक हुनेछन्, जसमा अधिकांश विद्युतीय प्रविधिमा आधारित हुनेछन्। पत्रकार सम्मेलनमार्फत नाइमाले १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधन सार्वजनिक गरिने जानकारी दिएको छ।

विद्युतीय मोडेलहरूको चहलपहल
विद्युतीय सवारीको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै यस एक्स्पोमा चिनियाँ ब्रान्ड जाइकोले जे ५ ईभी र जे ७ मोडल पहिलोपटक ल्याउने तयारी गरेको छ। जे ५ ईभी मा ६०.९ किलोवाट ब्याट्री, १५५ किलोवाटको मोटर र ४००–४७० किलोमिटरसम्मको दाबी गरिएको रेन्ज हुनेछ।

बिवाइडीले आफ्नो नयाँ सिल लायन ७ एसयुभी सार्वजनिक गर्दैछ भने चेरीको आइकार भी २३ र अन्य मोडलहरू पनि सोही क्रममा सार्वजनिक हुनेछन्। महिन्द्राले भारतमा मात्र परीक्षणमा रहेका बि–६ र एक्सयुभी.ई–९ मोडलहरू नेपालमै पहिलोपटक देखाउनेछ।

त्यस्तै, कियाले नयाँ ईभी–५, मलेशियन कम्पनी प्रोटोनले ईमास ७ को प्राइम र प्रिमियम भेरियन्टहरू पनि यहींबाट सार्वजनिक गर्नेछ।

दुईपांग्रेमा विद्युतीय लहर
दुईपांग्रे सवारीतर्फ एम्पेयर, एथर इनर्जी, एनआईयु, गोगोरो, रिभोल्ट, सेगवे नाइनबट, अल्ट्राभायोलेट, याडेया जस्ता ब्रान्डहरूले विद्युतीय स्कूटर तथा बाइक सार्वजनिक गर्ने तयारी गरेका छन्। पेट्रोल सवारीतर्फ बजाज, केटीएम, होण्डा, टिभिएस, रोयल एनफिल्ड, ट्रायम्फ, सिएफमोटो, सुजुकी लगायतका ब्रान्डले नयाँ संस्करणहरू प्रदर्शनमा ल्याउने छन्।

क्लासिक बाइकदेखि अफ–रोड र स्मार्ट कनिक्टेड स्कूटरसम्म देख्न पाइने यस एक्स्पो दुईपांग्रे पारखीका लागि पनि विशेष आकर्षण बन्नेछ।

व्यावसायिक सवारी पनि आकर्षणको केन्द्र
साना र ठूला व्यावसायिक प्रयोजनका सवारीसाधनहरू पनि विशेष आकर्षण हुनेछन्। चिनियाँ कम्पनीहरू चेरी वान्डा, डोङफेङ, किङ लङ, सनलङ, स्काइवर्थ, कामा, क्यारी, फ्यारिजोन र केटनले ट्रक, मिनीबस, डेलिभरी भ्यानलगायतका मोडल ल्याउने छन्।

स्मार्ट कनेक्टिभिटी, फास्ट चार्जिङ, उच्च लोड क्षमतासहितका विद्युतीय ट्रक तथा भ्यानहरू पनि यहीं सार्वजनिक हुनेछन्। सारांशमा, विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढिरहेको अवस्थामा नाइमा मोबिलिटी एक्स्पो–२०२५ ले नेपालमा नयाँ प्रविधि, डिजाइन र स्मार्ट सवारीहरूको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण १३, मंगलवार