तरलता नियन्त्रणमा राष्ट्र बैंक फेरि सक्रिय, आज २५ अर्ब तानिँदै

अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट पुनः २५ अर्ब रुपैयाँ तान्न लागेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोल उपकरण (Deposit Collection Auction Tool) प्रयोग गर्दै सो रकम संकलन गर्न लागेको हो।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदर आधारित प्रतिस्पर्धात्मक प्रस्ताव मार्फत हुनेछ। बोलकबोलको अन्तिम समय साउन ३० गते मध्यान्ह ३ बजेसम्म तोकिएको छ र यो प्रक्रिया अनलाइनमार्फत मात्र सञ्चालन हुनेछ।

राष्ट्र बैंकका अनुसार, सहभागी संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। रकमको बाँडफाँड सबैभन्दा कम ब्याजदरका आधारमा प्राथमिकता दिँदै गरिने छ।

संकलित रकमको सावा र ब्याज भदौ २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ। यो निर्णय बैंकिङ प्रणालीमा अत्यधिक तरलता कम गर्ने प्रयासस्वरूप लिइएको हो।

यसअघि राष्ट्र बैंकले यसै आर्थिक वर्षमा तीन पटक गरी साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब, र साउन ११ गते ५० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तानेको थियो। यो आजको संकलन सहित कुल २०५ अर्ब रुपैयाँ को तरलता व्यवस्थापन भइसकेको छ।

केन्द्रीय बैंकले पछिल्ला केही महिनादेखि बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको भन्दै मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको छ। यस्तो उपायले ब्याजदरमा स्थिरता ल्याउने र मुद्रास्फीतिमा नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।