नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७५ औं हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरजस्ता संवेदनशील विषयमा केन्द्रित उक्त स्वास्थ्य शिविरमा एक सयभन्दा बढी महिलाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा सिल्भरलाइन हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा आयोजना गरिएको हो।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमले महिलाको स्वास्थ्य सचेतना मात्र नभई, उनीहरूलाई आत्मनिर्भर बनाउने प्रेरणा पनि दिने विश्वास व्यक्त गरे। उनले महिलाहरूले स्वास्थ्यका साथै आर्थिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
चेम्बरको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठका अनुसार मनमैजु क्षेत्रका सयौं महिलाहरूले शिविरमार्फत स्वास्थ्य लाभ लिन सफल भएका छन्।
नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्ती वर्षका अवसरमा यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहने प्रतिबद्धता जनाएको छ।
७ दशकभन्दा बढी समयदेखि मुलुकको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको नेपाल चेम्बर अफ कमर्सले आफ्नो हीरक जयन्तीलाई समग्र आर्थिक समृद्धिमा योगदान गर्ने ऐतिहासिक अवसरको रूपमा प्रस्तुत गर्दै विभिन्न कार्यक्रम गरिरहेको छ।