गौतमबुद्ध र पोखरा विमानस्थल ‘राष्ट्रिय गौरवका संरचना’ मा राख्नुपर्ने : मन्त्री पाण्डे

  • Clock icon
    २०८२ श्रावण १५, बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निर्माण सम्पन्न भइसकेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई अब ‘राष्ट्रिय गौरवका संरचना’को सूचीमा राख्नुपर्ने बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गत रहेका पाँचमध्ये यी दुई विमानस्थल निर्माण सम्पन्न भइसकेकाले त्यसअनुसार पहिचान दिनुपर्ने बताएका हुन्।

“देशले अब यी संरचनाबाट फाइदा उठाउनुपर्ने बेला हो,” उनले भने, “यी संरचनालाई गौरवका परियोजनाको रूपमा अगाडि बढाउनुपर्छ।” त्यसैगरी, उनले पशुपति क्षेत्र र लुम्बिनी गुरु योजना अनुसार विकासमा सरकार प्रतिवद्ध रहेको जनाए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अझै अन्योलमा रहेको स्वीकार गर्दै उनले भने, “यो परियोजना मुलुकका लागि अपरिहार्य हो। यसको निर्माण तथा सञ्चालन मोडालिटी तयार गरेर अगाडि बढ्नेछौं।”

पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा चुनौतीको कारण मात्र ‘रुट’ नभई सरकारी संयन्त्रकै कमजोरी रहेको पनि मन्त्री पाण्डेको टिप्पणी थियो। उनले लामो समयपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज सञ्चालनमा रहेको र नयाँ जहाज थप्ने विषयमा छलफल चलिरहेको जानकारी समेत दिए।

  • Clock icon
    २०८२ श्रावण १५, बिहीबार