अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५सी लडाकु विमान क्यालिफोर्नियाको सेंट्रल क्षेत्रस्थित नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार साँझ करिब ६:३० बजे दुर्घटनाग्रस्त भएको छ।
नौसेनाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, विमान दुर्घटनाको समयमा पाइलटले समयमै इजेक्ट गरी आफ्नो ज्यान जोगाउन सफल भएका छन्। दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको जनाइएको छ। सीएनएनको सहायक संजाल KFSN द्वारा लिइएका भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुँवा र आगोको झिल्को देखिएको छ। सो स्थल फ्रेसेनो सहरबाट करिब ६४ किलोमिटर दक्षिण–पश्चिममा रहेको खुला कृषि क्षेत्र हो।
घटनास्थलमा पुगेको आपतकालीन उद्धार टोली (EMS) ले पाइलटलाई तत्काल प्राथमिक उपचार प्रदान गरेको र क्याल फायरले पनि उद्दार कार्यमा सहयोग गरेको फ्रेसेनो काउन्टी शेरिफ कार्यालयले जनाएको छ। दुर्घटनामा परेको एफ–३५सी विमान ‘स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ–१२५’ अन्तर्गतको थियो, जसलाई “रफ रेडर्स” नामले चिनिन्छ। सो इकाई अमेरिकी नौसेनाका पाइलट र एयरक्रुलाई प्रशिक्षण दिने जिम्मेवारीमा रहन्छ।
एफ–३५ लाइटनिङ–२ विमान विश्वकै एक अत्याधुनिक पाँचौं पुस्ताको लडाकु विमान हो। यसमा स्टेल्थ प्रविधि, डिजिटल युद्ध प्रणाली, र बहु–भूमिकामा काम गर्न सक्ने क्षमताहरू रहेका छन्। एफ–३५ का तीन संस्करण छन् — एफ–३५ए (वायुसेना), एफ–३५बी (मरीन कोर्प्स), र एफ–३५सी (नौसेना)। दुर्घटनामा परेको एफ–३५सी विशेष रूपमा विमानवाहक युद्धपोतबाट उडान र अवतरण गर्न डिजाइन गरिएको हो। सो विमानको मूल्य अनुमानित १०० मिलियन अमेरिकी डलर रहेको छ।
यो सन् २०२५ को दोस्रो एफ–३५ विमान दुर्घटना हो। यसअघि जनवरीमा अलास्काको आइएल्सन एयर फोर्स बेसमा एफ–३५ए विमान प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको थियो, जहाँ पनि पाइलटले सकुशल इजेक्ट गरेका थिए। एफ–३५ विमानहरू विश्वका १७ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ, जसको निर्माण अमेरिकी रक्षा कम्पनी लोकेड मार्टिनले गरेको हो। यद्यपि, पछिल्ला वर्षहरूमा यसको मर्मत र तयारी स्थितिका विषयमा चासो बढेको छ।