अब सस्तोमा ऋण: बैंकको बेसरेट तीन वर्षयताकै न्यूनमा

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार

देशको मौद्रिक प्रणालीमा सुधार आउन थालेसँगै कर्जाको लागत उल्लेख्यरूपमा घटेको छ। विशेषतः निक्षेपको ब्याजदरमा निरन्तर गिरावट आएसँगै वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) पनि घट्दै गएको छ, जसले गर्दा कर्जाको लागत पछिल्ला तीन वर्षयताकै न्यून तहमा पुगेको हो।

वाणिज्य बैंकहरूले साउन महिनाका लागि सार्वजनिक गरेको औसत आधारदर ६.१० प्रतिशतमा झरेको छ, जुन २०७८ माघयताकै सबैभन्दा न्यून बिन्दु हो। विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेप संकलन गर्न १२ प्रतिशतसम्म ब्याजदर तोकेको थियो, जसले ऋण महँगो बनाइ जनतामाथि आर्थिक चाप थपेको थियो।

हाल भने परिस्थिति सकारात्मक छ। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएपछि बैंकहरूले निक्षेपमा दिने ब्याजदर क्रमशः घटाइरहेका छन्, जसको प्रत्यक्ष असर कर्जाको लागतमा परेको हो। यसमा राष्ट्र बैंकको भूमिका पनि उल्लेखनीय रहेको छ। गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा जारी गरिएको मौद्रिक नीतिले ब्याजदर करिडोरको माथिल्लो र तल्लो दुवै सीमा घटाएको थियो, जसको प्रभावस्वरूप बैंकहरूले निक्षेप ब्याजदर करिब ०.२५ प्रतिशतले कटौती गरेका छन्।

साउन महिनाको तथ्यांक अनुसार, २० वटा वाणिज्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधारदर मात्रै ५ प्रतिशतभन्दा तल छ। राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ४.८९ प्रतिशत छ भने स्ट्यान्डर्ड चार्टर्डको ४.९० प्रतिशत। यी दुई बैंक अहिले सबैभन्दा सस्तो कर्जा उपलब्ध गराउने बैंकका रूपमा दरिएका छन्।

यस्तै, एभरेष्ट बैंकले ५.३५ प्रतिशत, नेपाल बैंकले ५.६३ प्रतिशत, ग्लोबल आईएमईले ५.७६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.७८ प्रतिशत, र नबिल बैंकले ५.८३ प्रतिशतको आधारदर कायम गरेका छन्। यी सबै बैंकहरूको बेसरेट औसतभन्दा कम भएकाले तुलनात्मक रूपमा सस्तो ऋण दिन सक्ने अवस्थामा छन्।

अन्य बैंकहरू जस्तै कृषि विकास बैंक (६.०३%), सानिमा बैंक (६.१५%), एनएमबी (६.२०%), नेपाल एसबीआई (६.२९%), माछापुच्छ्रे (६.३०%), सिद्धार्थ (६.३४%) र सिटिजन्स बैंक (६.३५%) को आधारदर पनि औसतको वरिपरि छ।

यता, लक्ष्मी सनराइजले ६.५० प्रतिशत, कुमारी र प्राइम कमर्सियलले समान ६.६२ प्रतिशत, हिमालयनले ६.६३ प्रतिशत र प्रभु बैंकले ६.६६ प्रतिशतको दर कायम गरेका छन्। सबैभन्दा उच्च आधारदर भने एनआईसी एशिया बैंकले ७.१८ प्रतिशत कायम गरेको छ।

पछिल्लो एक वर्षको तुलनामा मात्रै पनि बैंकहरूको औसत आधारदर १.५२ प्रतिशतले घटेको छ। २०८१ सालको साउनमा यो दर ७.६२ प्रतिशत थियो भने अहिले घटेर ६.१० प्रतिशतमा आइपुगेको हो। २०७९ पुसमा त यो दर १०.७८ प्रतिशतसम्म पुगेको थियो।

सामान्यतया बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋणको ब्याजदर निर्धारण गर्छन्। यद्यपि कर्जाको प्रकृति, जोखिम, बैंकको नीति र ग्राहकको वित्तीय स्थिति अनुसार ब्याजदर फरक पर्न सक्छ।

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार