नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ मनाइँदै

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको आज ७० औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् १९५५ अगष्ट १ मा दुई देशबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यही दिनबाट नेपाल–चीन सम्बन्धले औपचारिक कूटनीतिक यात्राको थालनी गरेको हो, जुन आज ७ दशक पूरा गर्दै ७१ औं वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा काठमाडौं र बेइजिङ दुबै शहरमा विशेष समारोह आयोजना गरिँदैछ। काठमाडौंस्थित चिनियाँ दूतावासले आज साँझ आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने कार्यक्रम तय भएको छ। समारोहमा उच्चस्तरीय सरकारी अधिकारी, कूटनीतिज्ञ, व्यापारी, बुद्धिजीवी र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ।

नेपाल–चीन सम्बन्धको जड ऐतिहासिक र सांस्कृतिक रूपमा गहिरो रहेको मानिन्छ। तिब्बती राजा स्रोङचेन गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाहलाई दुई देशबीचको प्रारम्भिक सम्बन्धको ऐतिहासिक दस्तावेजका रूपमा लिइन्छ।

पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, दुई देशबीचको सम्बन्ध पञ्चशील सिद्धान्त—शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान, अहस्तक्षेप, सम्प्रभुताको सम्मान र भौगोलिक अखण्डताको आधारमा विकसित हुँदै आएको हो। “नेपाल–चीन सम्बन्ध उच्च राजनीतिक तहमा निरन्तर संवाद, सहयोग र विश्वासमा आधारित छ,” उनले भने।

पछिल्ला वर्षहरूमा दुई देशबीच व्यापार, पूर्वाधार, संस्कृति, पर्यटन, शिक्षा र उर्जा क्षेत्रमा सहकार्य बढ्दो छ। चीन नेपालको प्रमुख विकास साझेदार र दोस्रो ठूलो व्यापारिक साझेदारको रूपमा रहेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत पनि नेपाल–चीन सम्बन्धले नयाँ उचाइ लिएको छ।

नेपाल र चीनबीच नियमित उच्चस्तरीय भ्रमण, द्विपक्षीय सम्झौता, जनस्तरको आदान–प्रदान, सीमापार सहकार्य लगायत विषयहरूमा सम्बन्ध निरन्तर विस्तार हुँदै आएको छ।

७० औं वार्षिकोत्सवको अवसरले दुई देशबीचको मित्रता थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। यस अवसरमा दुबै देशले पारस्परिक विश्वास र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाउने अनुमान गरिएको छ।

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार