नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको भविष्य सुरक्षित गर्न नयाँ पुस्तालाई संगठनमा सक्रिय रुपमा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले अहिलेको युवा पुस्ता – जेनेरेसन जेड (Gen Z) – कांग्रेसबाट टाढा रहँदा पार्टी नै धराशायी हुने खतरा रहेको चेतावनी दिए ।
विराटनगर महानगरपालिका–४ कार्यसमितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि बलियो कांग्रेस अपरिहार्य रहेको बताए । “कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ,” कोइरालाको भनाइ थियो, “र लोकतन्त्र बिना नेपाली जनता बाँच्न सक्दैनन् ।”
उनले थपे, “बलियो कांग्रेस बनाउने हो भने जेन्जी पुस्तालाई पार्टीसँग जोड्नु आजको सबैभन्दा ठूलो चुनौती हो ।”
कोइरालाले पछिल्लो समय युवामाझ राजनीति र राजनीतिक दलप्रति बढ्दो वितृष्णालाई चिन्ताजनक भन्दै त्यसलाई आकर्षणमा बदल्न पार्टीले नयाँ सोचसहित युवामुखी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे ।
उनका अनुसार, जनताले चाहेको लोकतन्त्रको रक्षा, स्थायित्व र देशको समुन्नत विकास कांग्रेसको बलियो नेतृत्वले मात्र सम्भव बनाउँछ, जसका लागि युवाको साथ अनिवार्य छ ।
कार्यक्रममा कोइरालाले कांग्रेसका योगदान सम्झँदै ज्येष्ठ नागरिकहरूको सम्मानलाई पार्टीको मूल्य र पहिचानसँग जोडिएको बताए ।