आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ। आजको चरणमा अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल सम्पन्न भएको छ।
छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशालाई संरक्षण गर्दै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण, तालिम तथा उत्पादित वस्तुको बजार पहुँच विस्तारबारे योजना अघि सारिएको छ।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र रहेका उद्योगलाई उपत्यका बाहिर स्थानान्तरण गरी प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिने विषयमा समेत छलफल भएको छ।
नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर प्रयोगशाला स्थापना गर्ने प्रस्तावसमेत छलफलमा उठाइएको थियो। साथै, झापाको मयुरधाप, मकवानपुर र चितवनको शक्तिखोर क्षेत्रमा आधुनिक औद्योगिक क्षेत्र विकास गर्ने योजना समेत प्रस्तुत गरिएको छ।
छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च अधिकारीहरुको उपस्थिति थियो।
आगामी दिनमा बजेट कार्यान्वयन सुनिश्चित गर्न अर्थ मन्त्रालयले अन्य मन्त्रालय तथा विभागहरूसँग समेत क्रमशः यस्ता छलफल गर्दै जाने जनाएको छ।