बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिन अवधिका लागि निक्षेप संकलन बोलकबोल (Deposit Collection Auction) प्रक्रिया मार्फत सो रकम तान्न लागेको हो।
निक्षेप संकलनको यो प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल अनिवार्य रूपमा ब्याजदरका आधारमा गर्नुपर्ने छ, जसमा न्यूनतम ब्याजदर पेस गर्ने संस्थालाई प्राथमिकताका साथ रकम वितरण गरिनेछ।
राष्ट्र बैंकले साउन १८ गते मध्यान्ह ३ बजेसम्म अनलाइन प्रणालीबाट मात्र बोलकबोल स्वीकार गरिने स्पष्ट पारेको छ। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ। निक्षेप संकलनको सावा तथा ब्याज आगामी भदौ २९ गते भुक्तानी गरिने छ।
यसअघि पनि राष्ट्र बैंकले साउन ४ गते ५० अर्ब, साउन ७ गते ८० अर्ब, साउन ११ गते ५० अर्ब र साउन १४ गते २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। निक्षेप संकलनको यो सिलसिला बैंकिङ प्रणालीको तरलता सन्तुलनमा राख्ने तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि गरिएको हो।