बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूसँग छलफल सुरु

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि सम्बन्धित लाइन मन्त्रालयहरूसँग औपचारिक छलफल सुरु गरेको छ।

यसैक्रममा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पहिलो छलफल गरिएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको सचिवालयका अनुसार उक्त छलफलमा बजेटमा समावेश मन्त्रालयगत योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारीबारे छलफल केन्द्रित भयो।

उद्योग मन्त्रालयको बजेटमा समेटिएको ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत परम्परागत सीप, कला र पेसाको संरक्षण गर्दै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमअन्तर्गत आधुनिक प्रविधिको प्रयोग, तालीम प्रदान गर्ने तथा उत्पादनलाई बजारसम्म जोड्ने व्यवस्था गरिनेछ।

छलफलमा काठमाडौं उपत्यकाभित्र रहेका उद्योगहरूलाई बाहिरका औद्योगिक क्षेत्रमा सार्नुपर्ने विषयमा पनि जोड दिइएको छ। प्रदूषण नियन्त्रणका लागि गरिने स्थानान्तरणमा विशेष प्रोत्साहन दिइने जानकारी दिइयो।

नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तर प्रयोगशाला स्थापना गर्ने विषयमा पनि छलफल भयो, जसले भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायबाट मान्यता पाउने लक्ष्य राखिएको छ। मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र विकासबारे पनि बैठकमा छलफल गरिएको थियो।

छलफलमा अर्थमन्त्री पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायतको उपस्थिति थियो। अर्थ मन्त्रालयले बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सबै मन्त्रालय र विभागहरूसँग क्रमिक छलफल गर्ने योजना बनाएको छ।