महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैँक बीच सीमा–पार भुक्तानी समझदारी

महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी (HDFC) बैंकबीच सीमा–पार (Cross Border) वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो । यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पुर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन् ।

यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एच.डी.एफ.सी (HDFC)  बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा (Cash Management Service-CMS)  अन्तर्गत सि.एम.एस चेक कलेक्सन (CMS-Cheque Collection) र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट (Electronic Cash Management Service e-CMS) सेवामा पहुँच प्राप्त हुनेछ जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (NEFT), रियल टाईम ग्रस सेटलमेन्ट (RTGS)  र फण्ड ट्रान्सफर (FT) को प्रयोग गरी भारतको एच.डी.एफ.सी (HDFC) बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् । साथै भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ । एच.डी.एफ.सी बैंकसँगको सम्झौता सँगै नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटयान्समा संलग्न ग्राहकहरुलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ । साथै यो प्रणालीको प्रयोग सँगै बैंकले ग्राहकहरुलाई गरेको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्नेछ ।

हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ग्राहकहरु रहेका छन् ।