कुनै समय लक्जरी मानिएको इन्टरनेट सेवा अहिलेको जीवनशैलीको आधारभूत आवश्यकता बनेको छ। यही आवश्यकतासँगै नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीचको प्रतिस्पर्धा झनै तीव्र भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर ३२ लाख ४८ हजार ६७४ फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता रहेका छन्। तीमध्ये ३२ लाख १९ हजार ३९१ ग्राहकले फाइबर इन्टरनेट प्रयोग गरिरहेका छन्। यसले देखाउँछ कि फाइबर प्रविधि अहिले इन्टरनेट पहुँचको मेरुदण्ड बनिसकेको छ।
वल्र्डलिंकको अग्रता कायम
इन्टरनेट बजारमा सबैभन्दा धेरै ग्राहक संख्याका साथ वल्र्डलिंक कम्युनिकेशन लिमिटेड अग्रस्थानमा छ। कम्पनीसँग हाल १० लाख १२ हजार ४१९ फाइबर ग्राहक छन्, जुन कुल बजारको ३१.१७ प्रतिशत हो।
डिश मिडिया दोस्रो, टेलिकम तेस्रो
केही समयअघिसम्म दोस्रो स्थानमा रहेको नेपाल टेलिकमलाई डिश मिडिया नेटवर्क लिमिटेडले उछिनेको छ। डिश मिडियासँग ३ लाख ६१ हजार ३९४ ग्राहक (११.१२%) छन् भने टेलिकमसँग ३ लाख ५४ हजार ४३८ ग्राहक (१०.९१%) मात्र रहेका छन्।
अन्य प्रतिस्पर्धीहरू
चौंथो स्थानमा रहेको भायानेटसँग ३ लाख १९ हजार ८ ग्राहक छन् (९.८२%)। सुविसु केबलनेटको २ लाख ९९ हजार २२५ ग्राहक (९.२१%) रहेको छ भने क्लासिक टेकको १ लाख ८७ हजार १३७ ग्राहक (५.७६%) छन्।
वेबसर्फर नेपालसँग १ लाख ७५ हजार ६५९, टेकमाइण्ड्स नेटवर्कसँग १ लाख १ हजार ५८०, सीजी कम्युनिकेसनसँग ८२ हजार ८६० र वाइफाइ नेपालसँग ८२ हजार ४८० ग्राहक रहेका छन्।
साना प्रदायकहरूको उपस्थिति पनि उल्लेखनीय
ब्रोडलिंक, फाइबर वर्ल्ड, सजिलो नेट, फर्स्टलिंक, कोनेक्ट नेपाल, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस, एरोनेट, चित्रवन युनिक नेट लगायत साना सेवा प्रदायकहरू पनि क्षेत्रीय बजारमा उल्लेखनीय सेवा विस्तार गरिरहेका छन्।
इन्टरनेट प्रविधिमा निरन्तर लगानी, गुणस्तरीय सेवा, र पहुँच विस्तारसँगै कम्पनीहरूबीचको प्रतिस्पर्धा अझ चर्किने संकेत देखिएको छ। यही प्रतिस्पर्धाबाट उपभोक्ताले अझ सुलभ, भरपर्दो र तीव्र सेवा पाउने अपेक्षा गर्न सकिन्छ।