बागमतीमा नयाँ मुख्यमन्त्रीकाे दौड सुरु, भाेली दाबी गर्ने अन्तिम म्याद

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाएका हुन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले भोलि (साउन २० गते) दिउँसो २ बजेसम्म मुख्यमन्त्री पदको दाबी पेश गर्न सक्नेछन्। मुख्यमन्त्री लामाले आज स्वकीय सचिवमार्फत राजीनामा बुझाएका थिए, जुन साउन १८ गतेदेखि लागू हुने छ। लामाको राजीनामापछि अब प्रदेशसभामा बहुमतको समर्थन पाउने सदस्यको नेतृत्वमा नयाँ सरकार गठन गर्न लागिएको हो।

प्रदेशमा दलहरूबीच बहुमत निर्माणका लागि छलफल तीव्र रूपमा भइरहेको छ। अब बहुमत दाबी पेस भइसकेपछि प्रदेश प्रमुखले संविधानबमोजिम मुख्यमन्त्री नियुक्त गर्नेछन्।