सामाजिक सुरक्षा कोषमा २४ लाखभन्दा बढी आवद्ध, अनौपचारिक क्षेत्रमा सहभागिता न्यून

योगदानमा आधारित सामाजिक सुरक्षा कोष (SSF) मा हालसम्म २४ लाख १८ हजार ८८ जना योगदानकर्ता आवद्ध भएका छन्। कोषको पछिल्लो तथ्यांकअनुसार, सबैभन्दा धेरै १८ लाख योगदानकर्ता वैदेशिक रोजगारमा रहेका नेपाली छन्।

कुल योगदानकर्तामध्ये ६ लाख ७९ हजार ७ जना औपचारिक क्षेत्र, ७२७ जना अनौपचारिक क्षेत्र र ४४४ जना स्वरोजगार क्षेत्रका छन्। कोषमा छ वर्षको अवधिमा रु ८८ अर्ब १३ करोड संकलन भएको छ भने रु १६ अर्ब ३ करोड दाबीबापत भुक्तानी भइसकेको छ।

कोषले बैंक, कारखाना, कम्पनीजस्ता औपचारिक क्षेत्रका कर्मचारीहरूलाई अनिवार्य दर्ता गराउँदै आएको छ। अन्य क्षेत्रका लागि भने स्वेच्छिक दर्ता खुला गरिएको छ। कर्मचारीले मासिक तलबको ११ प्रतिशत योगदान गर्छन् भने रोजगारदाताले २० प्रतिशत थप्ने व्यवस्था छ।

सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीका अनुसार अनौपचारिक र स्वरोजगार क्षेत्रमा सहभागिता अझै न्यून छ। यद्यपि, कोषले UN को २०३० भित्र सबैलाई सामाजिक सुरक्षाको पहुँचमा पुर्‍याउने लक्ष्य अनुरूप कार्य गरिरहेको छ।

कोषले चारवटा लाभ योजनाहरू संचालनमा ल्याएको छ —
१. स्वास्थ्य, चिकित्सा र प्रसूति सुरक्षा योजना
२. दुर्घटना तथा अपांगता सुरक्षा योजना
३. आर्जन अभाव भत्ता
४. आजीवन पेंशन तथा पारिवारिक सहयोग

OPD सेवाका लागि प्रति वर्ष रु २५ हजार र IPD उपचारका लागि रु १ लाखसम्म दाबी गर्न सकिने सुविधा छ। प्रसूति लाभ अन्तर्गत ९८ दिनसम्म तलबसहित बिदा र रु १५ हजार नवजात सन्तान हेरचाहका लागि उपलब्ध गराइन्छ। दुर्घटना वा गम्भीर रोगमा अधिकतम रु १० लाखसम्म खर्च र स्थायी अपांगता भएमा आजीवन तलबको व्यवस्था छ।

हालसम्म १ लाख १२ हजार १२८ जनाले रु २ अर्ब १९ करोड बराबरको स्वास्थ्य र प्रसूति लाभ दाबी गरेका छन्। ६ हजार २४ जनाले दुर्घटना तथा अपांगताबापत रु २ अर्ब १० करोड दाबी गरेका छन्। हालसम्म देशभर १०७ अस्पताल सामाजिक सुरक्षा कोषसँग आबद्ध भएका छन्।

सबैभन्दा धेरै बागमती प्रदेशमा ४२ अस्पताल, त्यसपछि कोशीमा २४, मधेशमा २०, गण्डकीमा १०, लुम्बिनीमा ९, सुदूरपश्चिममा २ अस्पताल आबद्ध छन्। कर्णाली प्रदेशमा भने अझै एक पनि अस्पताल आबद्ध भएको छैन। कोषले योगदानकर्ताहरूलाई सामाजिक सुरक्षाको दायरा बढाउँदै अवसर र सुरक्षाबीचको सन्तुलन स्थापित गर्न लक्ष्य लिएको छ।