प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो राष्ट्रसंघीय भू-आवद्ध विकासशील देशहरूको (LLDCs) सम्मेलनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गरेका छन्।
३२ वटा भू-आवद्ध विकासशील राष्ट्रहरूका नेताहरू र प्रतिनिधिहरू सहभागी भएको यो उच्चस्तरीय सम्मेलनले समावेशी आर्थिक वृद्धि, सस्तो र सहज यातायात प्रणाली, तथा क्षेत्रीय एकीकरणलाई प्राथमिकता दिँदै समुद्रको पहुँच नभएका राष्ट्रहरूले भोगिरहेका संरचनागत चुनौतीहरूबारे छलफल गरिरहेको छ।
उद्घाटन समारोहमा विश्व नेताहरूले दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न LLDC राष्ट्रहरूले सामना गर्ने बाधाहरू हटाउन अन्तर्राष्ट्रिय सहकार्यको खाँचोमा जोड दिए। सम्मेलनको प्रारम्भिक सत्रमा भौतिक पूर्वाधार, व्यापार सहजता, तथा दिगो विकासलाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना तर्जुमा गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलनको पूर्ण अधिवेशनमा नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य दिने कार्यक्रम तय भएको छ, जसमा उनले व्यापार प्रवर्धन, पूर्वाधार विकास, र विशेष सहायताका उपायहरूमा नेपालका प्राथमिकता प्रस्तुत गर्नेछन्।
यो सम्मेलनले भिएना कार्ययोजनाअन्तर्गत हालसम्म भएको प्रगतिको समीक्षा गर्दै आउँदो दशकका लागि नयाँ कार्ययोजना स्वीकृत गर्ने उद्देश्य राखेको छ। PM ओलीको उपस्थिति नेपालको भू-आवद्ध अवस्थाबाट हुने असरहरूबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने अवसरको रूपमा लिइएको छ।