ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोमाथि २०२२ को राष्ट्रपति चुनाव उल्ट्याउने षड्यन्त्रको आरोपमा घरमै नजरबन्द गर्ने आदेश सर्वोच्च अदालतले जारी गरेको छ। न्यायाधीश अलेक्जेन्ड्रे डि मोराइसले सोमबार उक्त आदेश जारी गरेका हुन्, जसको कार्यान्वयन सोही साँझ ब्रासिलियास्थित बोल्सोनारोको निवासमा गरिएको थियो।
पूर्व राष्ट्रपति बोल्सोनारोमाथि सशस्त्र आपराधिक समूहको नेतृत्व, कुप प्रयास, र लोकतान्त्रिक संस्थामाथि हिंसात्मक उत्तेजना फैलाएको अभियोग लगाइएको छ। प्रहरीहरूले उनको मोबाइल फोन समेत जफत गरेका छन्। निर्णयपछि बोल्सोनारो समर्थकहरू सडकमा उत्रिएर प्रदर्शन गरेका थिए।
उनको कानुनी टोलिले अदालतको कुनै आदेश उल्लंघन नभएको दाबी गर्दै निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ। तर, न्यायाधीश मोराइसका अनुसार बोल्सोनारोले राजनीतिक सन्देश र सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धित शर्तहरू उल्लंघन गरेका छन्। आरोप अनुसार, उनले आफ्ना तीन सांसद छोराहरूको खातामार्फत राजनीतिक प्रचार र सर्वोच्च अदालतविरुद्ध भडकाउ सन्देश जारी गरिरहे।
मोराइसले बोल्सोनारोमाथि सर्वोच्च अदालतमाथि आक्रमण गर्न उक्साउने र ब्राजिलको न्याय प्रणालीमा विदेशी हस्तक्षेपको समर्थन गर्ने आरोप पनि लगाएका छन्। यदि कुप प्रयासमा दोषी ठहरिएमा, बोल्सोनारोलाई १२ वर्षसम्म जेल सजाय हुन सक्छ।
अभियोगहरूको मूल जड भने जनवरी २०२३ मा देखिन्छ, जब बोल्सोनारो समर्थकहरूले राष्ट्रपति लुलाको जित अस्वीकार गर्दै राष्ट्रिय संसद र अन्य सरकारी संरचना तोडफोड गरेका थिए। त्यसबेला बोल्सोनारोले निर्वाचन हार स्वीकार नगरेको र सार्वजनिक रूपमा हार नमान्ने अडान लिएका थिए।
यता, बोल्सोनारोले सबै आरोपलाई राजनीतिक प्रतिशोध र ‘विच हन्ट’ को संज्ञा दिएका छन्। न्यायाधीश मोराइसले बोल्सोनारोका छोरा एडुआर्डो बोल्सोनारो को सम्पत्ति समेत गत महिना फ्रिज गरेका थिए, उनलाई ट्रम्प प्रशासनसँग ब्राजिल सरकारविरुद्ध लबिङ गरेको आरोपमा संलग्न गरिएको थियो।
एडुआर्डोले आफूमाथिको कारबाहीलाई “शक्तिको दुरुपयोग” भनी आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यदि न्यायाधीश मोराइसले मलाई थाम्न खोजिरहेका छन् भने म प्रस्ट छु—म न डराउँछु, न चुप लाग्छु।”
हालसम्म कानुनी संकट गहिरिँदै गएका भए पनि बोल्सोनारोको राजनीतिक जनाधार भने अझै सक्रिय देखिन्छ, जुन हालैका देशव्यापी प्रदर्शनहरूबाट प्रष्ट भएको छ।