आर्थिक वर्ष २०८२/८३ को बजेट समयमै पारित नगरेका ३० भन्दा बढी स्थानीय तहको समस्या बुझ्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वटा अनुगमन टोली खटाउने भएको छ।
मन्त्री भगवती न्यौपानेको निर्देशनमा सहसचिव कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा टोलीहरू साउन २१ गतेदेखि फिल्डमा खटिने भएका हुन्।
यी टोलीहरूमा गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका प्रतिनिधिहरू समेत सहभागी हुनेछन्। टोलीले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी समस्या पहिचान र समाधानको पहल गर्ने मन्त्रालयले जनाएको छ।
कानुनअनुसार असार १० भित्र बजेट पेस गर्नुपर्ने प्रावधान छ। तर, मन्त्रालयका अनुसार तीसभन्दा बढी स्थानीय तहले यो म्यादभित्र बजेट ल्याउन सकेका छैनन्। यस्तो अवस्था दोहोरिन नदिन अनुगमन टोली परिचालन गरिएको हो।