अमेरिकामा अवैध बसोबास घटाउन विदेशी पर्यटकसँग धरौटी लिने तयारी

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

अमेरिकामा भिसा अवधि सकिएपछि पनि फर्किन नमान्ने विदेशी नागरिकको संख्या घटाउन ट्रम्प प्रशासनले नयाँ नियम ल्याउने तयारी गरेको छ। अमेरिकाको राज्य विभागले घोषणा गरेको नयाँ पाइलट कार्यक्रमअनुसार केही देशका पर्यटक तथा व्यवसायिक भिसामा आउने आगन्तुकहरूले ५,००० देखि १५,००० डलरसम्म धरौटी बुझाउनुपर्ने छ।

यो धरौटी विदेशी नागरिकले भिसा अवधि सकिनु अघि अमेरिका छाडेमा फिर्ता दिइनेछ, तर समयमै नछोडेमा जफत गरिनेछ। यस कार्यक्रमलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को निर्वाचन एजेन्डा अन्तर्गत अघि सारेका छन्।

राज्य विभागका अनुसार कुन देशका नागरिकहरू यो नियमको दायरामा पर्छन् भन्ने होमल्यान्ड सेक्युरिटी विभागको ‘भिसा ओभरस्टे’ डाटाका आधारमा छनोट गरिनेछ। ती देशहरूमा स्क्रिनिङ प्रणाली कमजोर मानिएका र लगानीको आधारमा नागरिकता प्राप्त गर्ने मुलुकका नागरिकहरू पर्न सक्ने बताइएको छ।

२०२३ मा मात्र हवाई र समुद्री मार्ग हुँदै अमेरिका प्रवेश गरेका पाँच लाखभन्दा बढी विदेशी भिसा सकिएपछि पनि फर्किएका छैनन् भन्ने तथ्यांक सार्वजनिक गरिएको छ।

यस कार्यक्रम अगस्ट २० देखि लागू गरिनेछ र प्रारम्भिक रूपमा एक वर्षका लागि परीक्षण गरिनेछ।

कन्सुलर अधिकारीहरूले भिसा आवेदनको मूल्याङ्कन गर्दै धरौटीको रकम निर्धारण गर्नेछन्। ट्रम्प कार्यकालमा अघि सारिएको भए पनि कोरोना महामारीका कारण स्थगित भएको यो योजना अब कार्यान्वयनको चरणमा पुगेको न्युयोर्क टाइम्सले जनाएको छ।

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार