भृकुटीमण्डपमा ३ लाख स्क्वायर फिटमा नाडा अटो शो २०२५

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ राजधानीको भृकुटीमण्डपमा आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना गरिने यो शोमा स्मार्ट मोबिलिटी, प्रविधि र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अटो शोको औपचारिक उद्घाटन गर्ने तय भएको छ।

नाडाका अनुसार प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रफलमा विस्तार हुनेछ, जसमा १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र मात्र हुनेछ। यसलाई अहिलेसम्मकै ठूलो अटो शोका रूपमा लिइएको छ।

१२५ भन्दा बढी प्रदर्शक, १ लाख दर्शकको अपेक्षा

यस वर्षको मेलामा १९ वटा यात्रुवाहक गाडी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे ब्रान्डसहित ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकलगायत ३५ कम्पनीका छुट्टाछुट्टै स्टल रहनेछन्। कुल १२५ भन्दा बढी प्रदर्शकको सहभागिता रहने र १ लाखभन्दा बढी दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ।

पहिलोपटक सार्वजनिक हुने प्रविधिहरू

शोको विशेष आकर्षणमा नेपालमै पहिलोपटक सार्वजनिक रूपमा युनिट्री रोबोट्स र दीपल ईभीटिओएल यूएभी (शहरी हवाई मोबिलिटी प्रविधि) रहनेछन्।

ऐतिहासिक गाडी र ‘मेड इन नेपाल’ विशेषता

विन्टेज मोटर शो अन्तर्गत मोरिस माइनर, फिएट, प्यूजो, बीटल, मिनी कूपर, मर्सिडिज बेंज, टोयोटा आरटी४०, कोरोल्ला लगायतका ऐतिहासिक गाडीहरू प्रदर्शन गरिनेछन्। ‘मेड इन नेपाल प्याभिलियन’ अन्तर्गत स्वदेशी उत्पादन र नवप्रवर्तनलाई प्राथमिकता दिइनेछ।

संवाद, सुरक्षा र अफर

शोमा ईभी, दिगोपन र स्मार्ट मोबिलिटी विषयमा गोष्ठी, कार्यशाला र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने छन्। सुरक्षाका लागि जोन विभाजन, मेडिकल टोली, ट्राफिक सहायता डेस्क, आगलागी नियन्त्रण प्रणाली र निगरानी संयन्त्र पनि रहनेछ।

टिकटिङ:
खल्ती बाइ आईएमई अटो शोको आधिकारिक टिकटिङ पार्टनर रहनेछ। खल्तीमार्फत भदौ २ गतेसम्म अग्रिम टिकट खरिद गर्दा २०% क्यासब्याकको सुविधा दिइनेछ।

प्रायोजक:
एमएडब्ल्यु वृद्धि टाइटल स्पोन्सर, शिखर इन्स्योरेन्स को–स्पोन्सर, र यांगो मोबिलिटी पार्टनर रहनेछन्। नेपाल ल्युब तेलले १२ जना भाग्यशाली दर्शकलाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गर्ने घोषणा समेत गरेको छ।

नाडा अटो शो २०२५ लाई अटो क्षेत्रको भविष्यतर्फको यात्रा र नवप्रवर्तनको संगमको रूपमा हेर्ने तयारी आयोजकले जनाएको छ।

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार