नेप्सेमा ठूलो गिरावट, लघुवित्तका सेयरमा सर्किट

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज फेरि ४१.७८ अंकले ओरालो लागेको छ।

आज सेयर बजार १.४५ प्रतिशतले घटेर २,८३३.५७ बिन्दुमा झरेको हो। परिसूचकको गिरावटसँगै कुल कारोबार रकम पनि घटेको देखिएको छ।

नेप्से अनुसार आज ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयरहरू किनबेच हुँदा जम्मा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा झण्डै १ अर्ब ५० करोड रुपैयाँले कम हो। सोमबार ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो।

समाज र उन्नती सहकार्य लघुवित्तमा १० प्रतिशतले वृद्धि

बजार ओरालो लागे पनि समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य भने उच्च दरले बढेको छ। मंगलबार यी दुई कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको हो।

समाज लघुवित्तको सेयर मूल्य आज २४९.७९ रुपैयाँले बढेर प्रतिकित्ता २,७४८.२० रुपैयाँ पुगेको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य २२६.६६ रुपैयाँले बढेर २,४९३.४० रुपैयाँमा पुगेको छ।

आजको कारोबारमा ४७ कम्पनीको सेयरमा वृद्धि

आजको कारोबारमा समेटिएका ३२५ कम्पनीहरूमध्ये ४७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी अधिकांशमा गिरावट आएको छ।

  • Clock icon
    २०८२ श्रावण २०, मंगलवार