‘सवारीसाधनको भविष्य यहीँ देखिन्छ’ भन्ने अनुभूति दिलाउने गरी आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा पहिलो पटक आयोजना गरिएको यो एक्स्पो साउन २५ गतेसम्म चल्नेछ।
प्रविधि, वातावरण र नविन सोचको संगममार्फत नेपालको मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनीको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन्। उद्घाटन समारोहपछि ‘मोबिलिटी: हिजो, आज र भोलि’ शीर्षकमा अनिल केशरी शाहले ज्ञान सत्र प्रस्तुत गरे।
प्रदर्शनीमा ३५ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएका छन्, जसमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे तथा ५ वटा व्यावसायिक सवारी (ट्रक, भ्यान, मिनीबस) रहेका छन्। तीमध्ये धेरैजसो सवारी विद्युतीय प्रविधिमा आधारित छन्, जसले नेपालको हरित यातायात लक्ष्यमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको एक्स्पोमा एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख प्रायोजकका रूपमा छन्।
प्रदर्शनी स्थल भृकुटीमण्डपमा जलनिकासी, अपांगमैत्री पहुँच तथा अन्य संरचनागत सुधार पूरा गरिएका छन्। यात्रुहरूको सुविधा स्वरूप पठाओले ३० प्रतिशतसम्म छुट दिनेछ भने फ्रन्टलाइन हस्पिटलले आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा २४ सै घण्टा उपलब्ध गराउनेछ।
नाइमाले एक्स्पोको उत्साह बढाउन अनलाइन भिडियो प्रतियोगिता सार्वजनिक गरेको छ। साउन २० गतेसम्म सामाजिक सञ्जालमा अपलोड गरिएका भिडिओमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ पुरस्कार दिइनेछ। यस्तै, साउन २५ गतेसम्म अपलोड गरिएका उत्कृष्ट १० भिडिओलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।
विद्यार्थीहरूका लागि नाइमाले टिकट आम्दानीको ५ प्रतिशत शिक्षा मन्त्रालय र सीटीइभिटीसँगको सहकार्यमा छात्रवृत्ति तथा फेलोशिप कार्यक्रममा खर्च गर्ने जनाएको छ। नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई नेपालकै सबैभन्दा प्रभावशाली अटोमोबाइल प्रदर्शनी बनाउने दाबी गर्दै आगामी वर्षहरूमा अझ प्रविधिमैत्री र समावेशी संस्करण ल्याउने प्रतिबद्धता जनाएकी छन्।
टिकट खल्ती बाइ आईएमई एप मार्फत खरिद गर्न सकिनेछ भने आयोजकले करिब ८० हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरेको छ। नयाँ प्रविधि, विद्युतीय सवारी परीक्षण, विज्ञहरूसँग संवाद र विविध ब्रान्डहरूको नवप्रवर्तन प्रत्यक्ष अनुभव गर्न चाहनेका लागि यो एक्स्पो नछुटाउने अवसर भएको नाइमाले जनाएको छ।