प्रभु इन्स्योरेन्स लिमिटेडको क्रेडिट मूल्याङ्कन फेरि एक पटक पुष्टि गरिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई पुनः “ट्रिपल बी प्लस (BBB+)” को जारीकर्ता रेटिङमा कायम राखेको हो।
सन् १९९५ देखि बीमा व्यवसायमा क्रियाशील प्रभु इन्स्योरेन्सका प्रमुख लगानीकर्ता कर्मचारी सञ्चय कोष र ‘क’ श्रेणीको प्रभु बैंक लिमिटेड रहेका छन्, जसले कम्पनीलाई बलियो प्रवद्र्धक आधार दिएको छ।
हालसम्म कम्पनीले लगानी विविधिकरणमा निरन्तर प्राथमिकता दिँदै आएको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म लगानीमा वार्षिक १९ प्रतिशतको दरले वृद्धि भएको थियो। सावधिक निक्षेप परिपक्व भएपछि २०८०/८१ मा छोटो अवधिको निक्षेपतर्फ केन्द्रित भएको कम्पनीले २०८१/८२ मा पुनः लगानी विविधिकरणको नीति अपनाएको देखिन्छ।
नियामक निकायले तोकेको न्यूनतम सॉल्भेन्सी अनुपात १.३० गुणाभन्दा धेरै माथि २०८०/८१ को अन्त्यमा ४.६७ गुणा सॉल्भेन्सी अनुपात कायम गर्न सफल कम्पनीको पूँजी संरचना बलियो रहेको पुष्टि भएको छ।
बीमा दाबी व्यवस्थापन पक्ष पनि सन्तोषजनक रहेको छ। २०८०/८१ मा दाबी अनुपात ३८ प्रतिशतमा सीमित रहेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा यो घटेर ३४ प्रतिशतमा झरेको छ।
चालू वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्सको अन्डरराइटिङ मुनाफा १७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १११ करोड रुपैयाँ मात्र थियो। त्यस्तै, कम्बाइन्ड अनुपात पनि ८१ प्रतिशतबाट घटेर ६३ प्रतिशतमा झरेको छ, जसले कम्पनीको सञ्चालन स्थायित्वलाई पुष्टि गर्छ।
कम्पनीले विपद्, बाढीजस्ता चुनौतीपूर्ण अवस्थामासमेत जोखिम छानोटमा सतर्कता अपनाउँदै सञ्चालन लागत र दाबी व्यवस्थापनमा सन्तुलन कायम राख्न सफल भएको देखिएको छ।
विगत एक वर्षमा बीमा शुल्क आम्दानीमा ९ प्रतिशत र नेट बीमा आम्दानीमा ०.४४ प्रतिशत वृद्धि देखिए पनि राष्ट्रिय औसतको तुलनामा केही कम दरले वृद्धि भएको हो। यद्यपि सन्तुलित सञ्चालन नीतिले दीर्घकालीन स्थायित्व सुनिश्चित गरेको रेटिङ निकायले जनाएको छ।
कम्पनीले हालसम्म ६५ प्रकारका बीमा नीति जारी गरेको छ। ग्रस प्रिमियममा मोटर बीमा क्षेत्रको हिस्सा ३८ प्रतिशत छ, जसको उच्च रिटेन्सन दरले नेट आम्दानीमा पनि यसको योगदान प्रमुख रहेको छ। हवाई बीमाबाट ग्रस प्रिमियममा २२ प्रतिशत हिस्सा भए पनि यसको रिटेन्सन दर २ प्रतिशत मात्र भएकोले नेट आम्दानीमा १ प्रतिशतमा सीमित छ।