दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रयोगको दिशामा अगाडि बढ्दै, पोखरा महानगरपालिकाले पहिलो नगर ऊर्जा योजना (MEP) औपचारिक रूपमा सार्वजनिक गरेको छ। पाँच वर्षे यो योजना २०८१ फागुनमा अनुमोदित भएको हो, जसको कुल अनुमानित लागत १ अर्ब ३३ करोड ३० लाख ८२ हजार रुपैयाँ रहेको छ।
“समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा” भन्ने दीर्घकालीन परिकल्पनासहित ल्याइएको योजनाले बढ्दो ऊर्जा आवश्यकता सम्बोधन गर्नुका साथै ऊर्जा पहुँच विस्तार, दक्षता अभिवृद्धि र नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
पोखराका मेयर धनराज आचार्यले एक कार्यक्रमबीच यो योजना सार्वजनिक गरे। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उप कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी, जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विज्ञ डा. नारायण प्रसाद चौलागाईं, महानगरका पदाधिकारीहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
जिआइजेड नेपालको ‘रिप–ग्रीन’ कार्यक्रमको प्राविधिक सहयोगमा ऊर्जा विकास उप–समितिले यो योजना नौ चरणीय प्रक्रियामार्फत तयार पारेको हो। तयारी क्रममा विभिन्न सरोकारवालासँग परामर्श र छलफलसमेत गरिएको थियो।
योजनाले प्राथमिकताका रूपमा निम्न क्षेत्रहरूलाई पहिचान गरेको छ:
- घरायसी तहमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रयोगमा वृद्धी
- परम्परागत/आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित समाधान
- व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षता र हरित गृह ग्यास न्यूनीकरण
- नीतिगत पहल, शैक्षिक अभियान र जनचेतना विस्तार
मेयर आचार्यले सबै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै, पोखरालाई हरियाली र ऊर्जा–मैत्री सहर बनाउने यात्रामा यो योजना मूल दस्तावेज हुने बताएका छन्।
‘रिप–ग्रीन’ कार्यक्रम युरोपियन संघ (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त आर्थिक सहयोगमा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्यमा सञ्चालन भइरहेको हो।
कार्यक्रमले स्थानीय सरकारसँग सहकार्य गर्दै दिगो, समावेशी र लैङ्गिक उत्तरदायी ऊर्जा योजनामा सहयोग पुर्याउँदै आएको छ। यस योजनाबाट पोखरा ऊर्जा रूपान्तरणको उदाहरणीय शहरका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।