संसदीय समितिको प्रतिवेदनद्धारा पार्टीको निर्णय हुने कांग्रेसका महामन्त्री विश्वप्रकाशको दाबी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्म अनुसार पार्टीले निर्णय लिने दाबी गर्नुभएको छ ।

‘कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ । समितिले खतिवडाको भूमिका माथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नुपर्ने कांग्रेसभित्र र बाहिरबाट आइरहेको छ ।

खतिवडाको विषयमा पार्टीले चाल्ने कदमका बारेमा महामन्त्री शर्माले भने,‘समितिले प्रतिवेदनको उल्लेख गरेका विषयलाई दृष्टिगत गरेर पार्टीले आवश्यक निर्णय लिन्छ ।’ खतिवडाका विषयमा पार्टीभित्र छलफल हुने र प्रतिवेदनको मर्म अनुसार निर्णय गरिने महामन्त्री शर्माले जानकारी गराउनुभयो ।

खतिवडा सभापति रहेको समितिमा कुलिङ अफ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भएको थियो । तर, प्रतिनिधि सभाबाट पारित हुँदा समितिबाट पारित भए भन्दा फरक व्यवस्था विधेयकमा राखिएको थियो । विधेयकमा फरक प्रावधान राखेर पारित संसदबाट पारित भएपछि त्यसमा छानविन गर्न संसदीय समिति बनेको थियो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा रहेको समितिले तयार गरेको प्रतिवेदन संसदमा पेश गरिएको छ ।