भिसा काण्डमा संसदीय छानबिनको माग, खतीवडाको राजीनामा माग गर्दै बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विवादास्पद भिसा काण्डमा संसदीय छानबिन समिति गठनको माग गर्दै बुधबार पनि प्रतिनिधिसभामा विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले राज्य व्यवस्था तथा सुशासन समिति अध्यक्ष रामहरि खतीवडाको राजीनामा समेत माग गरेका छन्।

रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि लगातार संसद्मा आन्दोलन गर्दै आएका छन्। उनीहरूको मुख्य माग भनेको भ्रमण भिसा वितरणमा भएको भनिएको अनियमितता बारे गम्भीर छानबिन गर्नु हो।

बुधबारको बैठकमा रास्वपा प्रवक्ता तथा सांसद मनीष झा र राप्रपा सांसद रोशन कार्कीले बोल्दै सरकारको भूमिकालाई प्रश्न उठाए। त्यसपछि दुबै पार्टीका सांसदहरूले सदन बहिष्कार गरे।

सांसद मनीष झाले सरकार भ्रमण भिसा काण्डप्रति उदासीन रहेको भन्दै कडा आलोचना गरे। उनले ‘कुलिङ अफ पिरियड’ विवादमा रामहरि खतीवडाको प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै उनले अब समितिको अध्यक्षमा बसिरहन नहुने बताए।

“नैतिकताको सवाल हामीमाथि उठाइन्थ्यो, तर अहिले नैतिक संकट त राज्य व्यवस्था समिति अध्यक्षमा देखिएको छ। यसले उहाँको पद नै असहज बनाएको छ,” झाले भने, “उत्तरदायित्व कुनै विकल्प होइन। अब हाम्रो आन्दोलनको मागमा उहाँको राजीनामा पनि थपिएको छ।” त्यस्तै, राप्रपा सांसद रोशन कार्कीले संसद्लाई चुनौती दिंदै भनिन्, “संसद सरकारको उत्तरदायी संस्था हो वा सरकार संसदको?”

उनले सक्रिय विरोध भइरहँदा पनि संसद चलिरहनु प्रश्नको विषय भएको बताइन्। दुबै सांसदको भनाइपछि रास्वपा र राप्रपाका सबै सांसदहरूले बैठकबाट बहिष्कार गरे। उनीहरूले माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहने जनाएका छन्।