नेपालका प्रमुख व्यवसायिक घरानामध्ये एक गोल्यान ग्रुपले आफ्नो स्थापनाको ६५ औं वार्षिकोत्सवको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ। #GolyanForGrowth अर्थात् ‘विकासका लागि गोल्यान’ भन्ने मूल सन्देशसहित बनेको यो फिल्मले नेपालीहरूको दैनिकीसँग गाँसिएका प्रेरणादायी कथाहरूलाई दृश्यमा उतारेको छ।
कम्पनीले सार्वजनिक गरेको अनुसार, ब्रान्ड फिल्मले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा क्षेत्रमा समूहले गरेको लगानीले कसरी व्यक्ति, समुदाय र राष्ट्रमा अवसर र परिवर्तन ल्याएको छ भन्ने देखाउने प्रयास गरेको छ।
सन् १९६० मा स्थापना भएको गोल्यान ग्रुपले हाल देशभर २५ भन्दा बढी व्यवसायहरू सञ्चालन गर्दै आएको छ। यस समूहमा हाल ६ हजारभन्दा बढी जनशक्ति कार्यरत छन्, र यसको वार्षिक कारोबार ४० करोड अमेरिकी डलरभन्दा बढी रहेको जनाइएको छ।
फिल्मको विशेषता:
फिल्म कम्पनीको दृष्टिकोण होइन, लाभान्वित भएका आम नेपालीहरूको आँखाबाट प्रस्तुत गरिएको छ। बालबालिकालाई सौर्य ऊर्जा मार्फत उज्यालो, किसानलाई उचित बजारको पहुँच, उद्योगमा काम गर्ने मजदुरको आत्मनिर्भरता लगायतका कथाहरू यसमा समेटिएका छन्।
गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानले भने, “यो फिल्म हामीबारे होइन, ती मानिसहरूबारे हो, जसको जीवन र प्रयत्नले हाम्रो यात्रालाई आकार दिएको छ। यो साझा प्रगतिको कथा हो।”
दिगो विकासमा समर्पित
गोल्यान ग्रुपले सदैव “नाफाभन्दा माथि उठेर” विकासमा योगदान पुर्याउँदै आएको दाबी गरेको छ। ऊर्जा पहुँच, रोजगार सृजना, पूर्वाधार निर्माण, स्थानीय उत्पादनको प्रवर्द्धन र निर्यात वृद्धि समूहको प्राथमिकतामा परेको छ।
सम्मान र पुरस्कार
गोल्यान ग्रुपले पछिल्ला वर्षहरूमा निर्यात र रोजगारमा उल्लेखनीय योगदानका लागि सरकारबाट सीआईपी (व्यावसायिक रूपमा महत्त्वपूर्ण व्यक्ति) को उपाधि पाएको छ।
त्यस्तै, उत्कृष्ट निर्यातक पुरस्कार २०२५, सर्वोच्च निर्यात पुरस्कार २०२४, र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार २०२२ लगायतका सम्मानहरू पनि प्राप्त गरिसकेको छ। यी सबै उपलब्धिहरूले गोल्यान ग्रुपले जिम्मेवार र समावेशी आर्थिक विकासतर्फ गरेको निरन्तर प्रयासलाई पुष्टि गर्छन्।