कुमारी बैंकको नाफा ४५९ गुणा वृद्धि, अन्य सुचकहरुमा समेत उल्लेख्य सुधार

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय आर्थिक सुधार गर्दै २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो आवको तुलनामा ४५९.२९ गुणा बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले केवल ४६ लाख रुपैयाँ नाफा गरेको थियो।

बिहीबार प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी पनि ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको संचालन नाफा ५२९.८७ प्रतिशतले वृद्धि भएर ६ अर्ब १३ करोड ४४ लाख रुपैयाँमा पुगेको छ।

तर, यति ठूलो नाफा हुँदाहुँदै पनि बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ। वितरित लाभांश दिन सक्ने नाफा नकारात्मक २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ रहेको हुँदा, यस वर्ष पनि सेयरधनीहरूले लाभांश पाउने सम्भावना कम देखिएको छ।

वित्तीय सूचकहरूको दृष्टिकोणले हेर्दा, हाल कुमारी बैंकको प्रति सेयर आम्दानी (EPS) ८.०७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ।

तर बैंकको व्यवसायिक पक्ष भने त्यति उत्साहजनक देखिएको छैन। आर्थिक वर्ष २०८१/८२ मा बैंकको निक्षेप संकलन ९.४६ प्रतिशतले बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ पुगे पनि कर्जा प्रवाह २.७९ प्रतिशतले घट्दै २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। साथै, बैंकको खराब कर्जा (NPL) पनि ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको देखिन्छ।

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार