ट्रम्पको पहलमा पुटिन–जेलेन्स्की वार्ताको संकेत

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शिखर वार्ताको सम्भावना बलियो भएको बताएका छन्।

बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र पुटिनबीचको पछिल्लो छलफललाई “धेरै सकारात्मक” भन्दै दुबै नेतासँग प्रत्यक्ष वार्ता गर्न आफू तयार रहेको बताएका हुन्।

क्रेमलिनले पनि यो संवादलाई “रचनात्मक” भनेको छ र दुबै पक्षबीच संकेतहरूको आदानप्रदान भएको पुष्टि गरेको छ। यद्यपि, सो वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यो वार्ता ट्रम्पद्वारा रुसी आक्रमण रोक्न तोकिएको अन्तिम म्यादभन्दा केही दिनअगाडि भएको हो। ट्रम्पले आफ्ना युरोपेली साझेदारहरूसँग पनि युद्ध अन्त्यका विषयमा छलफल भइरहेको जनाउँदै सामाजिक सञ्जालमार्फत लेखेका छन्, “सबै सहमत छन् — यो युद्ध अब अन्त्य हुनैपर्छ, र हामी यसका लागि प्रतिबद्ध छौं।”

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पसँग विटकोफको भ्रमणबारे टेलिफोन वार्ता भएको पुष्टि गरेका छन्। जेलेन्स्कीले रुसले यदि शान्तिका लागि गम्भीर प्रयास गर्न चाहन्छ भने आर्थिक दबाबको सामना गर्नुपर्ने स्पष्ट पारेका छन्।

यदि रुसले युद्ध अन्त्यतर्फ ठोस कदम नचालेमा ट्रम्प प्रशासनले कडा प्रतिबन्धसहित दोस्रो चरणको प्रतिबन्ध पनि लागू गर्ने चेतावनी दिएको छ। यसमा रूससँग व्यापार गर्ने मुलुक र कम्पनीहरू पनि प्रभावित हुनेछन् ।

  • Clock icon
    २०८२ श्रावण २२, बिहीबार