भारतका विदेश सचिव विक्रम मिस्री यही साउन ३१ गते (अगस्ट १७) काठमाडौं आउने तयारीमा छन्। नेपाल सरकारका उच्च स्रोतअनुसार यो भ्रमण नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको तयारीस्वरूप हुन लागेको हो।
मिस्रीको भ्रमणलाई प्रधानमन्त्री ओलीको सेप्टेम्बर १६–१७ मा प्रस्तावित दिल्ली यात्राको पूर्वतयारीको रूपमा लिइएको छ। भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा र अन्य उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरिनेछ। यद्यपि भारतले सेप्टेम्बर १६–१७ का लागि भ्रमणको प्रस्ताव गरे पनि औपचारिक मिति तय भइसकेको छैन।
भ्रमणका दौरान दुई पक्षबीच प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेन्डा र प्राथमिकताहरूबारे विस्तृत छलफल हुने बताइएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            