कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल अन्तर्गतको छैटौँ अधिवेशन बुधबार राति १२ बजेदेखि औपचारिक रूपमा अन्त्य भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १८३(२) बमोजिम अधिवेशन समाप्ति घोषणा गरेका हुन्।
सभामुख नन्दा गुरुङका अनुसार चालु अधिवेशन अवधिभर ३४ वटा बैठक बसे र कुल ६४ घण्टा ४२ मिनेट ४० सेकेन्ड समय बैठक सञ्चालनमा खर्च भयो। अधिवेशनको अन्तिम दिन अर्थात् ३४औँ बैठकबाट “कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” पारित गरिएको छ। यो विधेयकले प्रदेशमा विषादीको नियमन, सुरक्षा र व्यवस्थित प्रयोग सम्बन्धमा कानुनी आधार तयार गर्ने विश्वास लिइएको छ।
यस अधिवेशनमा विभिन्न विधेयक, सार्वजनिक सरोकारका मुद्दा, नीति कार्यक्रम कार्यान्वयन, र प्रश्नोत्तर सत्रहरूबारे पनि सांसदहरूबीच गहन छलफल भएको सभामुख गुरुङले जानकारी दिइन्।
प्रदेश सरकारका अनुसार आगामी अधिवेशनमा आर्थिक पारदर्शिता, विकास आयोजनाको कार्यान्वयन र सुशासनलाई प्राथमिकतामा राखिने तयारी छ।