चाडपर्वका अवसरमा नेपाली उत्पादनलाई प्राथमिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सबैलाई आग्रह गरेका छन्। तीजको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित २२औं श्रृजनशील उद्यमी मेला–२०८२ को उद्घाटन गर्दै उनले स्वदेशी उत्पादनको प्रयोगलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणको महत्वपूर्ण माध्यमको रूपमा व्याख्या गरेका थिए।
मन्त्री भण्डारीले विशेषगरी नेपाली महिलालाई स्वदेशी पहिरन र सामग्रीको प्रयोगमा जोड दिनु पर्नेमा बल दिएका थिए। “अब हङकङको साडी होइन, आफ्नै देशमा उत्पादन भएको पहिरन लगाउनुस्,” उनले भने, “यसले तपाईंको सौन्दर्य मात्र होइन, देशको अर्थतन्त्र पनि मजबुत बनाउँछ।”
व्युटी पार्लरले मात्रै होइन, सिर्जनशील उद्यमहरूले पनि व्यक्तिलाई सुन्दर देखाउने बताएका भण्डारीले विदेशी वस्तुको अन्धाधुन्ध प्रयोगले स्वदेशी उद्योगमाथि नकारात्मक असर पारेको प्रति चिन्ता व्यक्त गरे। उनले विशेष गरी गार्मेन्ट क्षेत्रमा विदेशी डिजाइन र श्रमिकको प्रयोग आत्मनिर्भरतासँग ठोक्किएको बताए।
महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको मेरुदण्डको रूपमा उल्लेख गर्दै मन्त्रीले महिलामैत्री सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता अभियान र ‘मेड इन नेपाल’ जस्ता कार्यक्रमहरूलाई सरकारी प्राथमिकता रहेको जानकारी दिएका थिए।
मेलामा हस्तकला, ढाका कपडा, खाद्य पदार्थ, घरेलु सामग्री, सौन्दर्य प्रसाधन लगायतका नेपाली उत्पादनहरू प्रदर्शन गरिएका थिए। मन्त्री भण्डारीले यस्ता मेलाले महिला उद्यमीहरूलाई नेटवर्किङ, नवप्रवर्तन, अनुभव साटासाट र बजार विस्तारको अवसर दिने बताए।
उद्योग मन्त्रीले महिला सिर्जनशील केन्द्रद्वारा सञ्चालित तालिम र सीप विकास कार्यक्रमको प्रशंसा गर्दै सरकारी, निजी र सामाजिक निकायबीचको सहकार्यले उद्यमशील वातावरण निर्माणमा मद्दत पुग्ने धारणा व्यक्त गरे।
उनी अनुसार स्वदेशी उत्पादनमा मौलिकता, गुणस्तर र ब्रान्डिङको अभाव हटाउन सरकार गम्भीर रहेको छ। उपभोक्ताको विश्वास बढाउन र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउन आवश्यक रणनीति तयार पारिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।