‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ईभीको बर्चस्व, नयाँ मोडेलको वर्षा

साउन २१ गतेदेखि काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ देशभरका मोटरसाइकल तथा स्कुटर प्रेमीका लागि प्रमुख आकर्षण बनेको छ। देशका १५ भन्दा बढी ब्रान्डले आफ्ना नयाँ मोडेल सार्वजनिक गर्दै दुई पांग्रे बजारमा नयाँ प्रतिस्पर्धाको शुरुवात गरेका छन्।

एक्स्पोमा इलेक्ट्रिक र पेट्रोल दुवै सेग्मेन्टका आकर्षक सवारी साधन प्रस्तुत भए पनि विद्युतीय सवारीको बर्चस्व स्पष्ट देखिएको छ। अधिकांश कम्पनीले स्मार्ट कनेक्टिभिटी, फास्ट चार्जिङ, जीपीएस, एआई र डुअल ब्याट्रीजस्ता अत्याधुनिक फिचरयुक्त मोडेल सार्वजनिक गरेका छन्।

केटीएमको आधिकारिक वितरक हंशराज हुलाश चन्द एण्ड कम्पनीले एकैपटक ६ नयाँ मोडेल सार्वजनिक गरेको छ। ३९० एन्ड्युरो आर (१० लाख), ३९० एड्भेन्चर एस (१० लाख ७५ हजार), २०० ड्यूक (५ लाख ९९ हजार ९००), २५० ड्यूक (७ लाख १४ हजार ९००), ३९० ड्यूक (९ लाख ४९ हजार ९००) र २५० एड्भेन्चर (७ लाख ४९ हजार ९००) मूल्य तोकिएको छ।

टीभीएसले नयाँ आरटीआर ३१० प्रदर्शनीमा राखेको छ भने एनटर्क १२५ स्कुटर दुई नयाँ रंगमा २ लाख ८२ हजार ९०० रुपैयाँमा ल्याएको छ। साथै आरआर ३१० (२०२५ भर्सन) र रोनिनका २ कस्टम मोडेल पनि प्रदर्शनमा छन्।

बेनेलीले मोर्बीडेली २५२ (५ लाख ७५ हजार) र मोर्बीडेली ३५२ (९ लाख ९७ हजार) नामक दुई नयाँ एड्भेन्चर बाइक प्रस्तुत गरेको छ। याडियाले पहिलो पटक विद्युतीय मोटरसाइकल ‘किनेस’ (६ लाख ६० हजार) र भेलेक्स स्कुटरको तीन भेरियन्ट सार्वजनिक गरेको छ जसको सुरुवाती मूल्य २ लाख ८५ हजार तोकिएको छ।

बीजी इलेक्ट्रिकअन्तर्गत आरयूभी ३५० आइइएक्स (२ लाख ७९ हजार ४००), आरयूभी म्याक्स (३ लाख २५ हजार ३००), सी१२ आइइएक्स (२ लाख २८ हजार ४००) र सी१२ म्याक्स ३.० (३ लाख ४ हजार ९००) मूल्यमा ल्याइएको छ।

सेगवेले साइबर ई–बाइक (५ लाख ५५ हजार), सफारी (३ लाख ५० हजार), ई१२५ एमके२ (३ लाख ५० हजार) र ई१५० एमके२ (५ लाख) मूल्यका मोडेल सार्वजनिक गरेको छ।

ट्रायम्फले स्पीड ४०० यलो र स्क्र्याम्बलर रेड नयाँ रंगमा ल्याएको छ भने मूल्य यथावत राखेको छ। सीएफ मोटोको ४५० एसआरएस (१३ लाख ५० हजार) एक्स्पोकै महँगो मोटरसाइकल बनेको छ, साथै ३०० एनकेको मूल्य ६ लाख ५४ हजार ९०० तोकिएको छ।

एथरको रिज्टा (३ लाख ८३ हजार ५००) र बजाज चेतकको ईभी स्कुटर (३ लाख २४ हजार ९००) पनि प्रदर्शनमा छन्। यो एक्स्पोले नेपाली दुई पांग्रे बजारमा ईभी क्रान्तिको संकेत मात्र नभई उपभोक्तालाई विविध विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र प्रविधिप्रति झुकावबीच यी मोडेलहरूले बजारमा नयाँ प्रतिस्पर्धा र अवसर ल्याउने देखिन्छ।