आर्थिक वर्ष २०८१/८२ मा नागरिक लगानी कोषले १३.७१ प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कोषले अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब १० करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।
कोषको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ब्याज आम्दानी २३.७५ प्रतिशत घटेर ३३ करोड ७४ लाख रुपैयाँमा सीमित भए पनि सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशत बढ्दै १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ। कुल आम्दानी भने ८.९६ प्रतिशत वृद्धि भई २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ भएको छ।
खर्चतर्फ, कोषको व्यय ६.७७ प्रतिशत घटेर ४२ करोड ४२ लाख रुपैयाँमा झरेको छ। यसले नाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
यद्यपि, नाफा बढेपनि प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। गत वर्षको तुलनामा १ रुपैयाँ ४१ पैसा कम हुँदै EPS १९ रुपैयाँ ३४ पैसामा पुगेको छ। चौथो त्रैमासको अन्त्यमा कोषको मूल्य-आम्दानी अनुपात (P/E ratio) १०२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ।
हाल नागरिक लगानी कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ र जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको छ।