सिटिजन बैंकको नाफामा हल्का कमी, ब्याज आम्दानीमा दोहोरो वृद्धि

सिटिजन बैंकको नाफामा गत आर्थिक वर्ष २०८१/८२ मा २.०७ प्रतिशत कमी देखिएको छ। बैंकले शनिवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा बैंकले कुल १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँभन्दा केही कम हो।

बैंकका अनुसार कर्जा नोक्सानीको सम्भावित जोखिम व्यवस्थापनका लागि ठुलो परिमाणमा जगेडा व्यवस्था गरिएकोले नाफामा कमी आएको हो। तर, बैंकको खुद ब्याज आम्दानी भने दोहोरो अंकमा वृद्धि भएको छ। गत आवमा यस्तो आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ५ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ थियो। यद्यपि सञ्चालन नाफा सामान्य घटेर २ अर्ब ९ लाख रुपैयाँमा सीमित भएको छ।

वितरणयोग्य मुनाफा भने ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले यस वर्ष सेयरधनीलाई ५.२५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ। हाल बैंकको खराब कर्जा ४.९४ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवमा ४.१० प्रतिशत थियो। चौथो त्रैमासको अन्त्यमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा कायम भएको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा ७ अर्ब १४ करोड ४१ लाख रुपैयाँ सञ्चित छ।