अप्रत्याशित रूपमा नेपालबाट भारततर्फ तोरीतेलको निर्यातमा गत आर्थिक वर्षमा ऐतिहासिक उछाल आएको छ। भन्सार विभागका तथ्यांकअनुसार २०८१/८२ मा ८४ करोड ८६ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको ४५ लाख ७३ हजार ६०२ लिटर तोरीतेल भारत पठाइएको छ।
यो परिमाण अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा मूल्यमा २७३ गुणा र परिमाणमा १९९ गुणाले बढी हो। अघिल्लो वर्ष केवल ३१ लाख ४ हजार रुपैयाँ मूल्यको २२ हजार ९९८ लिटर मात्र निर्यात भएको थियो।
गत वर्ष प्रति लिटर औसत १८५ रुपैयाँमा तोरीतेल निर्यात भएको थियो, जुन अघिल्लो वर्षको १३७ रुपैयाँभन्दा उच्च हो। निर्यातमा वीरगंजका उद्योग अगाडि छन्, जसमा चाचान ग्रुपको नारायणी आयल रिफाइनरी उद्योग पहिलो स्थानमा छ। शिवशक्ति ग्रुपले पनि उल्लेख्य मात्रामा निर्यात गरेको छ, तर पूर्वका उद्योगले पासबुक व्यवस्थामा समस्या भएकाले निर्यात गर्न सकेका छैनन्।
उद्योगीहरूका अनुसार भारतमा माग उच्च भए पनि त्यहाँको उत्पादन माग धान्न नसक्दा नेपालबाट निर्यात बढेको हो। भारतमा अन्य मुलुकबाट तोरीदाना आयातमा प्रतिबन्ध भएकाले नेपालले युक्रेन र अस्ट्रेलियाबाट तोरी ल्याएर तेल उत्पादन गरेको हो। युक्रेन र अस्ट्रेलियाको तोरीमा तेलको अंश ४३–४४ प्रतिशत हुने भएकाले उत्पादन प्रतिस्पर्धी बनेको छ।
तर, उद्योगीहरूका लागि अर्को चुनौती भनेको पिनाको मूल्यमा आएको भारी गिरावट हो। तोरीतेलको सहउत्पादन पिनाको मूल्य गत वर्षको ७०–७२ रुपैयाँ प्रतिकिलोबाट घटेर अहिले ४० रुपैयाँमा पुगेको छ। पिनाको खपत घटेपछि उद्योगले तेल निर्यातलाई टिकाउनको उपायका रूपमा प्रयोग गरिरहेका छन्।
गत वर्ष ३ अर्ब ६२ करोड ७५ लाख १९ हजार मूल्य बराबरको ८ करोड ७ लाख ११ हजार ७७० किलो पिना निर्यात भए पनि मूल्य अघिल्लो वर्षको ५१ रुपैयाँ ४९ पैसाबाट घटेर ४४ रुपैयाँ ९४ पैसामा झरेको छ।
उद्योगीहरूको भनाइमा, खुद्रा बजारमा तोरीतेल लिटरको ३ सय रुपैयाँभन्दा बढीमा बिक्री हुँदा १८५ रुपैयाँमा निर्यात गर्नु उद्योग बचाउने बाध्यता हो, नाफाको व्यापार होइन। पश्चिममा पिनाको विक्री ठप्पजस्तै हुँदा निर्यातमा निर्भरता बढेको छ भने पूर्वमा भने खपत स्थिर छ।