कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ५७ करोड १५ लाख रुपैयाँमा सीमित थियो।
बैंकको ब्याज आम्दानी ६.९३ प्रतिशत र फि तथा कमिसन आम्दानी ७.२१ प्रतिशतले घटे पनि कर्जा नोक्सानीमा आएको ठूलो कमीले नाफामा वृद्धि भएको हो। समीक्षा अवधिमा बैंकको कुल संचालन आम्दानी १.८४ प्रतिशत घटेको भए पनि संचालन मुनाफा ४१.२९ प्रतिशतले बढेको छ।
खराब कर्जा दर अघिल्लो वर्षको ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ। यसका कारण कर्जा नोक्सानी २ अर्ब ४५ करोड रुपैयाँबाट घटेर १० करोड रुपैयाँमा सीमित भएको हो।
बैंकको प्रति सेयर आम्दानी (EPS) अघिल्लो वर्षको ९ रुपैयाँ ७ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा मूल्य आम्दानी अनुपात (P/E ratio) ११.८४ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा पुगेको छ।
समीक्षा अवधिमा बैंकले २ अर्ब ५५ करोड २० लाख रुपैयाँ वितरणयोग्य मुनाफा हासिल गरेको छ। १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।