रसुवा बाढी–पहिरो क्षतिबाट बीमा दावी झन्डै अर्ब पुग्यो

गत असार २३ गते रसुवामा आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिबाट बीमा कम्पनीहरूमा झन्डै अर्ब बराबरको दावी पेश भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार अहिलेसम्म ७८ वटा दावी दर्ता भई कुल ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको दाबी पेश भएको हो।

यो विपत्तिमा घर, गाडी, पसल लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको र निर्जीवन बीमा कम्पनीहरूमा दावीको चाप उच्च देखिएको प्राधिकरणले जनाएको छ। साउन २२ गतेसम्मको प्रारम्भिक विवरण अनुसार ६१ करोड ४७ लाख बराबरको सम्पत्ति बीमा, २२ करोडको समुद्री बीमा, ५ करोड ९५ लाखको इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, ५ करोड ५८ लाखको निजी मोटर बीमा र ३ करोड ५५ लाख ५२ हजार रुपैयाँको सार्वजनिक मोटर बीमा दाबी पेश भएका छन्।

हिमालयन एभरेष्टमा सबैभन्दा ठूलो चाप
रसुवा बाढी–पहिरो क्षति सम्बन्धी दावी ११ वटा निर्जीवन बीमा कम्पनीमा पुगेको छ। तीमध्ये सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा पुगेको छ, जसमा ५५ करोड रुपैयाँ बराबरको दावी पेश भएको छ। यो कुल दावीको ५५.७८ प्रतिशत हो।

यस्तै, शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख ३० हजार रुपैयाँ बराबरका १५ वटा, नेपाल इन्स्योरेन्समा ८ करोड ७३ लाखका १६ वटा, सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजारका ६ वटा र नेको इन्स्योरेन्समा ५ करोड ६७ लाखका ५ वटा दावी पुगेका छन्।

सगरमाथा लुम्बिनीमा २ करोड ६५ लाखका २ वटा, युनाइटेड अजोडमा ९१ लाखका ३ वटा, आइजीआई प्रुडेन्सियलमा ७६ लाख ७० हजारका १० वटा, एनएलजीमा ४७ लाखका ६ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाखका ७ वटा र प्रभू इन्स्योरेन्समा २८ लाखका ६ वटा दावी दर्ता भएका छन्।