काठमाडौंमा मापदण्डविपरीतका २७१ पानी जार नष्ट

बर्खायाममा पानीजन्य रोगको जोखिम बढेसँगै काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्रता दिएको छ। पछिल्लो एक हप्तामा मात्र विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा पानी जार बरामद गरी नष्ट गरिएको महानगरले जनाएको छ।

महानगरको अनुगमनको जिम्मा लिएका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा १३९ वटा गाडी जाँच गर्दा ४५६ वटा फोहोर, कुचिएका र मापदण्ड नपुगेका जार बरामद गरी नष्ट गरिएका छन्। न्यौपानेले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता जार तत्काल जफत र कम्पनीलाई कडा निर्देशन दिइएको बताए।

मुख्य स्थानमा चेकपोस्ट
चालु आर्थिक वर्षदेखि महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वरजस्ता मुख्य क्षेत्रहरूमा चेकपोस्ट राखेर अनुगमन गर्दै आएको छ।

  • साउन १८ गते कोटेश्वरमा १५ सवारी साधन जाँच गर्दा ७७ वटा मापदण्ड विपरीतका जार बरामद।
  • साउन २० गते बल्खुमा ८ कम्पनीका सवारी जाँच्दा ५९ वटा फोहोर वा फुटेका जार फेला।
  • साउन २१ गते चाबहिल–चुच्चेपाटीमा १९ सवारी जाँच्दा ६७ वटा जार बरामद, ३ वटा नमुना प्रयोगशालामा पठाइयो।
  • साउन २३ गते माछापोखरी–बालाजुमा २० सवारी अनुगमन गर्दा ६८ वटा जार बरामद।

कम्पनीहरूलाई चेतावनी
अनुगमनका क्रममा पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जारमा पानी बिक्री नगर्न, उत्पादन मिति र स्पष्ट लेबल राख्न, बिल–बिजक अनिवार्य गर्न र पानीको गुणस्तरमा संवेदनशील हुन निर्देशन दिइएको छ।

फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार नमुनाको प्रयोगशाला परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गरिने छ। हैजाको जोखिम भएका क्षेत्रमा पनि पानी परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।