सुनमा अमेरिकी आयातशुल्कले बजारमा भूकम्प, नेपालमा असर बढ्यो

अमेरिकी सरकारले सुनमाथि नयाँ आयात शुल्क लागू गरेपछि विश्वको सुन बजारमा तीव्र हलचल सुरु भएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले जुलाई ३१ मा घोषणा गरे अनुसार १ किलो र १०० औंस बराबरका सुन बारहरूमा ‘रेसिप्रोकल ट्यारिफ’ अन्तर्गत आयात शुल्क लाग्ने भएको छ।

यसअघि वाल स्ट्रिटका व्यापारीहरूलाई शुल्क नलाग्ने विश्वास थियो, तर अब शुल्क लागू भएपछि अमेरिकी सुन आयातको लागत बढ्ने र न्यूयोर्क, लन्डन तथा स्विट्जरल्याण्डजस्ता सुन व्यापार केन्द्रहरूबीच आपूर्ति श्रृंखला प्रभावित हुने देखिन्छ।

पूर्वराष्ट्रपति ट्रम्पको ‘टैरिफ वार’ अन्तर्गत स्विट्जरल्याण्डबाट आउने सुनमा ३९ प्रतिशतसम्म आयात शुल्क लाग्ने यो नीति बिहीबारदेखि लागू भएको हो। यस समाचारपछि विश्व बजारमा सुनको मूल्य प्रति औंस ३,५०० अमेरिकी डलर नाघ्यो जुन इतिहासमै उच्च स्तर हो। यद्यपि केही दिनयता मूल्य सन्तुलित भएर अहिले ३,३९८ डलर प्रतिऔंस कायम छ। विशेषज्ञहरू भन्छन्, सुनमा शुल्क लागेपछि मूल्य अझै बढ्ने सम्भावना छ र आपूर्ति प्रणालीमा अस्थिरता आउने खतरा छ।

तर, ह्वाइट हाउसले यसबारे फैलिएका समाचारलाई भ्रमपूर्ण ठहराउँदै चाँडै स्पष्ट नीति ल्याउने जानकारी दिएको छ। नेपालमा पनि यस राजनीतिक–आर्थिक संकटको असर छिटो देखिएको छ। नेपाली सुन बजारमा मूल्य उच्च विन्दुमा पुगेर शुक्रवार १ लाख ९९ हजार ४०० रुपैयाँ प्रति तोलामा पुग्दा आइतबार केही घटेर १ लाख ९९ हजार २०० रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बढ्दो आयात लागत, सरकारी कर नीति र विश्वव्यापी अस्थिरताले नेपाली बजारलाई गम्भीर असर पुर्‍याएको छ। बजेटमार्फत सुन र गरगहनामा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटले आयात कम गराएको छ र बजारमा आपूर्ति अभाव बढेको छ।

औपचारिक आयात घटेपछि अवैध सुन कारोबार बढ्ने जोखिम बढेको छ। नेपाल–भारत खुला सीमाका कारण अवैध सुन तस्करी सहज भएको छ। करको बोझले व्यवसायीहरू समेत कहिलेकाहीँ अवैध बाटो अपनाउन बाध्य हुने भएकाले अवैध कारोबारमा वृद्धि हुने आशंका व्यक्त गरिएको छ। यसबीच, सुनको मूल्य अस्थिर रहँदा उपभोक्ता र व्यवसायी दुवै दबाबमा परेका छन् भने बजार लगभग ठप्प भएको अवस्था छ।