आइएमई मोटर्सको ९ महिनामै २ अर्ब २१ करोडको व्यापार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई मोटर्सले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालको मूल्यांकन अनुसार कम्पनीले यो उपलब्धि हासिल गरेको हो।

इक्रा नेपालको रिपोर्टका अनुसार कम्पनीले हालै तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको छ। गत वर्षहरूको तथ्यांक हेर्दा, आइएमई मोटर्सले आव २०२४ मा २ अर्ब ३४ करोड, आव २०२३ मा १ अर्ब ७५ करोड, आव २०२२ मा २ अर्ब ३७ करोड र आव २०२१ मा १ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल ब्रान्ड अशोक लेल्याण्डको नेपालमा आधिकारिक वितरकका रूपमा कार्यरत आइएमई मोटर्सले बस, इन्टरमिडिएट कमर्सियल भेहिकल (ICVs), लाइट कमर्सियल भेहिकल (LCVs), मिडियम कमर्सियल भेहिकल (MCVs), ट्रक र टिपरहरू आयात गरी बिक्री वितरण गर्दै आएको छ।

कम्पनीका अनुसार, गुणस्तरीय सवारीसाधन र व्यापक सेवा सञ्जालको कारण व्यापार वृद्धि भएको हो।