भदौ ३ मा नाडा अटो शो, उद्घाटन प्रधानमन्त्री ओलीद्वारा हुने

आगामी भदौ ३ गतेबाट सुरु हुने १७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आइतबार प्रधानमन्त्रीलाई भेट गरी उद्घाटनको औपचारिक निम्तो दिएको हो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अटो शो आयोजना गर्न लागेको हो। यो कार्यक्रम नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा हुने विशेष संस्करणको रूपमा रहनेछ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठका अनुसार, प्रदर्शनीमा पहिलो पटक नेपालमा युनिट्र रोबोट्स् र डिपल इभटोल युएभीजस्ता भविष्यमुखी प्रविधिहरू सार्वजनिक गरिनेछ। साथै, १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी अटोमोबाइल ब्रान्डले सहभागिता जनाउने तयारी छ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष चौधरीले अटो शोको उद्देश्य, नाडाको इतिहास र यो संस्करणको विशेषता बारे जानकारी गराएका थिए। उक्त भेटमा नाडाका उपाध्यक्ष श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पङ्कज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति थियो।

हाल भृकुटीमण्डपमा नाडाबाट अलग भएर गठन भएको नाइमा अटोमोबाइल्सको अटो शो सञ्चालनमा छ, जसको उद्घाटन उपप्रधान तथा अर्थमन्त्रीले गरेका थिए। यसपटक नाडा फरक अवधारणा र प्रविधिमुखी प्रदर्शनीमार्फत दर्शक आकर्षित गर्ने लक्ष्यमा रहेको अध्यक्ष चौधरीले बताएका छन्।