नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक नाफा कमाउँदै बैंकिङ क्षेत्रमा बलियो प्रदर्शन गरेको छ। मंगलबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकले एकै वर्षमा ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ थियो।
विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँमा पुगेको छ। साथै, इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ४ अर्ब ६३ करोड ७७ लाख रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफामा थप बृद्धि गरेको हो।
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ, जसका आधारमा यस वर्ष बैंकले सेयरधनीलाई १७.६४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राखेको छ। हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ र जगेडा तथा कोषमा ३६ अर्ब ६८ करोड २५ लाख रुपैयाँ रहेको छ।
व्यवसाय विस्तारमा पनि बैंक सक्रिय देखिएको छ। बैंकको निक्षेप १३.५३ प्रतिशत बढेर ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १०.५० प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख रुपैयाँमा पुगेको छ।
खराब कर्जामा उल्लेखनीय सुधार गर्दै बैंकले अघिल्लो वर्षको ४.४५ प्रतिशत खराब कर्जा घटाएर गत आवमा ०.९५ प्रतिशतमा ल्याएको छ। हाल बैंकको प्रतिसेयर आम्दानी (EPS) २६.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ।