एनएमबि बैंकको नाफामा ४६ प्रतिशतको उछाल

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

एनएमबि बैंकले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय नाफा वृद्धि गर्दै ३ अर्बभन्दा बढी खुद नाफा कमाएको छ। मंगलबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकले गत आवमा ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ थियो।

वित्तीय विवरणअनुसार, बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा ६४.४६ प्रतिशत वृद्धि भई ५ अर्ब ३५ करोड २ लाख रुपैयाँमा पुगेको छ। नेट फि तथा कमिसन आम्दानी पनि २१.६२ प्रतिशत बढेर २ अर्ब १८ करोड १७ लाख रुपैयाँ पुगेको छ।

कुल संचालन आम्दानी १४.३४ प्रतिशतले बढेर १० अर्ब ८८ करोड १६ लाख रुपैयाँ पुगेको छ, जबकि इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको तुलनामा घटेर ९५ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ। यसले नाफामा थप वृद्धि गरेको हो।

गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो आवमा ९ करोड ३८ लाख रुपैयाँ ऋणात्मक थियो। यस आधारमा यस वर्ष बैंकले आफ्ना सेयरधनीलाई १०.४१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ। हाल बैंकको प्रतिसेयर आम्दानी (EPS) १७.९० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.६८ रुपैयाँ छ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा १४ अर्ब ३१ करोड ६० लाख रुपैयाँ रहेको छ। खराब कर्जा भने अघिल्लो वर्षको ३.४० प्रतिशतबाट बढेर ३.७२ प्रतिशतमा पुगेको छ।

व्यवसाय विस्तारमा पनि बैंक सक्रिय देखिएको छ। गत आवमा बैंकको निक्षेप २५.४५ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १७.९२ प्रतिशत वृद्धि भई २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख रुपैयाँमा पुगेको छ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार