नाइमा एक्स्पोमा बीवाईडीको एकल दबदबा

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को पहिलो संस्करणमा विद्युतीय गाडी निर्माता बीवाईडीले अभूतपूर्व सफलता हासिल गर्दै सम्पूर्ण अटो उद्योगको ध्यान आफूतर्फ तानेको छ। काठमाडौंको भृकुटीमण्डपमा साउन २१ गतेदेखि २६ गतेसम्म चलेको ६ दिन लामो एक्स्पोमा कुल २२ सयभन्दा बढी गाडी बुकिङ भए, जसमा बीवाईडी एक्लैको ८०० युनिट बुकिङ हुँदै झण्डै ३६ प्रतिशत हिस्सा कब्जा गर्‍यो।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को आयोजनामा सम्पन्न यस ऐतिहासिक मेला अवलोकन गर्न १ लाखभन्दा बढी दर्शक पुगेका थिए। ५० भन्दा बढी ब्रान्डले चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारीका सयौं मोडल प्रदर्शनीमा राखेका थिए।

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एटो–वान र सिलायन–७ मोडल प्रदर्शनमा राखेको थियो, जसले उच्च लोकप्रियता बटुल्यो। बीवाईडीपछि बुकिङमा सांग्रिला मोटर्स कम्पनी दोस्रो स्थानमा रह्यो, जसले लिपमोटर टी–०३, बी–१० र सिट्रोन सी–थ्री मोडलमार्फत २२५ युनिटभन्दा बढी बुकिङ गर्‍यो। टी–०३ मा ६ लाख र सिट्रोनमा साढे ६ लाख रुपैयाँसम्मको छुटले बिक्रीमा थप वृद्धि गर्‍यो।

ओमोडा र जेको ब्रान्डको संयुक्त बुकिङ ३६७ युनिट रह्यो। यस्तै, हुन्डाई (२०० युनिट), एमजी (१५०), महिन्द्रा (१००), काइ (५०), टोयोटा (२६), फोर्थिङ फ्राइडे (३८), एलईभी (३७), फक्सवागन (२८) र म्याक्सस (१२) युनिट बुकिङ भएको कम्पनीहरूले जनाएका छन्।

दुईपांग्रेमा पनि राम्रो सफलता देखियो। बजाज चेतक र केटीएम बाइक दुवैको २००–२०० युनिट बुकिङ भयो। ट्रायम्फ २००, एथर स्कुटर १५० भन्दा बढी, र बेनेली तथा मोर्बिडेल्ली ८० युनिट बुकिङमा परे।

केही मोडलको माग यति बढ्यो कि ‘सोल्ड आउट’ घोषणा गर्नुपर्ने अवस्था आयो। चारपांग्रेमा निसान लिफ, सिट्रोन सी–थ्री, ई–सी–थ्री र लिपमोटर टी–०३; दुईपांग्रेमा बेनेली ७५२ एस; र व्यावसायिक सवारीतर्फ निसान अर्बान माइक्रोबस बिक्री सकियो। विशेषगरी निसान लिफमा दिइएको २० लाख रुपैयाँसम्मको छुटपछि ६५ लाख पर्ने गाडी ४५ लाखमै बिक्री भई सबै युनिट सम्पन्न भए।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार