भारतलाई नेपालबाट विद्युत् निर्यात १०१० मेगावाट पुग्यो

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् आयात गर्ने सहमति दिएको छ। सोमबार भारतले नेपालका विभिन्न ५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने २००.२९ मेगावाट विद्युत् निर्यातको अनुमति प्रदान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

स्वीकृत आयोजनामध्ये तल्लो सोलुबाट ८० मेगावाट, लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२ मेगावाट, ठूलो खोलाबाट २०.७ मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.७ मेगावाट र सुपर काबेली खोला आयोजनाबाट ६.८ मेगावाट विद्युत् निर्यात हुने भएको छ।

यी आयोजनाहरूको कुल जडित क्षमता २३५ मेगावाट भए पनि निर्यात अनुमति जडित क्षमताभन्दा अलि कम मात्र प्रदान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ। उदाहरणका लागि, तल्लो सोलु ८२ मेगावाट, लिखु–२ ५५ मेगावाट, लिखु खोला ‘ए’ ५१ मेगावाट, ठूलो खोला २१.३ मेगावाट, सुपर काबेली खोला ‘ए’ १३.७ मेगावाट र सुपर काबेली खोला १२ मेगावाट क्षमताका छन्।

यसअघि भारतले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट ८१०.९ मेगावाट विद्युत् आयातको अनुमति दिएको थियो। अहिले थप २००.२९ मेगावाट थपिएसँगै भारतमा निर्यात हुने नेपालको कुल विद्युत् क्षमता १०१०.९ मेगावाटमा पुगेको छ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार